उपत्यकाका ८२ प्रतिशत ट्राफिक लाइट काम नलाग्ने अवस्थामा

उपत्यकाका ८२ प्रतिशत ट्राफिक लाइट काम नलाग्ने अवस्थामा

केन्द्रबिन्दु
0
Shares

प्रसुन संग्रौला–

काठमाडौंं । सडकमा सवारी व्यवस्थापनका लागि आधारभुत आवश्यकता हो ‘ट्राफिक लाइट’ । सवारी व्यवस्थापनका लागि विश्वमा डिजिटल युगको प्रवेश भइसक्दा समेत नेपालमा भने ‘ट्राफिक लाइट’ समेत व्यवस्थित हुन सकेका छैनन् ।

देशकै राजधानी काठमाडौं उपत्यकामा रहेका ८२ प्रतिशत ‘ट्राफिक लाइट’ ले काम गर्दैन । एकातिर पर्याप्त ‘ट्राफिक लाइट’ को व्यवस्था नहुनु र अर्काेतिर भएकाले पनि काम नगर्दा पैदलयात्रु, सवारीचालक र ट्राफिक प्रहरीलाई मात्रै असहज भएको छैन दुर्घटना समेत हुने गरेका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रवि कुमार पौडेलका अनुसार काठमाडाैं उपत्यकाभित्र २८ वटा ट्राफिक बत्ती छन् । ती मध्ये २० वटा सवारीसाधनको लागि र ८ वटा जेब्रा क्रसिङमा राखिएका हुन् । जसमा २२ वटा ट्राफिक बत्ती बल्न छाडेपछि प्रयोगविहीन भइसकेका छन् ।

अहिले उपत्यकाभित्र ५ वटा ट्राफिक बत्तीले मात्र काम गरिरहेको ट्राफिक प्रहरी प्रवक्ता पौडेलले बताए । प्रहरी उपरीक्षक पौडेलका अनुसार बानेश्वर, सिंहदरवार गेट अगाडि, महाराजगञ्ज, गौशाला र भक्तपुरक सुर्यविनायकको गरी पाँच स्थानको बत्तिले मात्र काम गरिरहेका छन् भने बाँकी २२ वटाको मर्मत गर्नुपर्ने भएको छ ।

जेब्राक्रसमा पैदलयात्री मृत्युको कारण ट्राफिक लाइट

महानगरीय ट्राफिक प्रहरीको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्षमा २०७५/०७६ मा राजधानी काठमाडौंको सडकमा ९३ जना पैदलयात्रीले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको पछिल्लो ४ महिनामा मात्र काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी २९ जना पैदलयात्रीकाे ज्यान गइसकेको छ । कतिपयले त जेब्राक्रसमै पनि सवारीको ठक्करबाट ज्यान गुमाएका हुन् । जेब्राक्रसमा दुर्घटना हुनु ट्राफिक बत्ती नभएका स्थान र भएका ठाउँमा पनि नबल्ने समस्याका मुख्य कारण रहेको महाशाखाले जनाएको छ ।

केही दिनअघिमात्र मर्निङवाकमा रहेका सिभिल अस्पतालका डाक्टर प्रभु जोशीको बानेश्वरमा गाडीको ठक्करबाट मृत्यु भएको थियो ।

पौडेलका अनुसार काठमाडौंमा दैनिक १५ देखि २० वटासम्म सडकमा दुर्घटना हुने गरेको छ । यसको प्रमुख कारण पनि ट्राफिक लाइट नै भएको उनको बुझाइ छ ।

ट्राफिक प्रहरीलाई हम्मेहम्मे

ट्राफिक लाइट नबल्दा संख्या बढाएर चाहिनेभन्दा बढी ट्राफिक प्रहरीको खटाउनु परेको महाशाखाका प्रवक्ता पौडलको भनाइ छ । हाल एक हजार चारसय जना ट्राफिक प्रहरी सडकमा खटिएका छन् ।

किन भएन ट्राफिकलाइटको मर्मत ?

महानगरीय ट्राफिक प्रहरी महाशाखा ट्राफिक लाइट मर्मत कार्य आफ्नो क्षेत्राधिकारमा नपर्ने बताउँछ । पौडेलका अनुसार ट्राफिक लाइट मर्मत कार्यक्षेत्र सडक विभागको हो । तर सडक विभागले मर्मतमा ध्यान नदिएको महाशाखाको गुनासो छ । ‘सडक विभागसँग कयौं पटक ट्राफिक लाइटको समस्या राखिसक्यौं तर उहाँहरूबाट कहिल्यै पनि सकरात्मक प्रतिक्रिया आएन’ पौडेलले केन्द्रबिन्दुलाई बताए ।

विभाग के भन्छ ?

महाशाखाको गुनासोलाई लिएर हामी ट्राफिक बत्ति मर्मत नहुनुको कारण खोज्दै सडक विभाग पुग्यौं । विभागका सह–प्रवक्ता अर्जुन सुवालले ट्राफिक बत्ति मर्मतको काम सुरु गरिसकेको बताए । अधिकांश ट्राफिक लाइट पुरानो भएर बिग्रिएको र ती सबैको समान्य मर्मत गरेर चलाउन सकिने अवस्थामा रहेकोले सोहि बमोजिम काम थालिसकेको बताए । मर्मत सम्पन्न हुन केही समय लाग्ने सुवालको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखासँगै सहकार्य गरेर आफूहरूले मर्मतको काम थालेको दावी गरे ।

मर्मत कार्य कति दिनमा सकिन्छ ? भन्ने प्रश्नमा सुवालले भने, ‘ट्राफिक लाइट के कसरी नबल्ने अवस्थामा पुगेको हो त्यसको अवस्था हेरेर चाँडै मर्मत कार्य पूरा गर्ने गरी काम सुरु भएको छ । यति नै दिन भनेर भन्न सकिन्न ।’ सरकारले काठमाडौं उपत्यकालाई स्मार्ट सिटी बनाउने योजना अघि सारेको बेला ट्राफिक लाइटनै नबल्ने अवस्थामा छन् । पर्यटन वर्ष नजिकिँदा समेत सडक तथा पूर्वाधारको अवस्था दयनीय छ ।

नयाँ ठिमीेकीे स्थानीय उषाकिरण काफ्ले बताउँछिन्, ‘ट्राफिक लाइट सञ्चालनमा नहुँदा सवारी साधनहरू मनपरी हिसाबमा चल्छन्, जेब्रा क्रसिङमा पनि रोक्दैनन् र डराएर बाटोमा हिड्ने स्थिति बन्दछ ।’

Logo