पहाड खनेर पानी निकालिएपछि फर्किन थाले बसाइँ सरेर भएका गाउँले

पहाड खनेर पानी निकालिएपछि फर्किन थाले बसाइँ सरेर भएका गाउँले

केन्द्रबिन्दु
0
Shares

खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करिब १२३ मिटर खनिएको छ तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ ।

लामो बाटो हिँडेर मूलको पानी ल्याउनु पर्ने बाध्यताले आजित गाउँबासी बसाइँ सर्ने क्रम बढ्दो क्रममा थियो । पानीकै समस्याले गाउँले विस्तापित हुन थालेपछि इलाम नगरपालिकाले डिप बोरिङबाट पानी निकाल्ने योजना बनाएको हो । जिल्लामै पहिलो परीक्षण भएकाले सफल हुने/नहुनेमा द्विविधा थियो तर नगरको परीक्षण सफल भएपछि गाउँले खुसी भएका हुन् । लामो बाटो पानी बोक्नु नपर्ने भएपछि पुनः गाउँ फर्किएको ७० वर्षीया टीका पराजुली बताउछिन् । पराजुली २०३२ सालमा विवाह गरेर सोयाक आउँदा खानेपानी लिन दैनिक एक घण्टा हिँड्नु पर्थ्यो । अहिले बोरिङबाट घरमै पानी झरेपछि भने पराजुलीलाई “जीवनले काँचुली” फेरिएझैँ भएको छ ।

एक वर्षअघि दुई करोड ४७ लाख ८० हजारको लागतमा बोरिङको काम सुरु गरिएको थियो । सुक्खा डाँडामा अन्य क्षेत्रबाट पानी ल्याउन सकिने अवस्था थिएन । सोही कारण नगरले यो नयाँ उपाय अपनाएको हो । गाउँमा सडक, बिजुली सबै विकासका पूर्वाधार पुगे पनि खानेपानी नभएपछि स्थानीयवासी चिन्तित थिए । पानीको समस्या सुल्झिएपछि गाउँमा फर्किनेको सङ्ख्या बढेको स्थानीयवासी नरेन्द्र आचार्य बताउछन् ।

Logo