प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान तथा नियन्त्रण गर्नमा अब्बल रहेको बताएका छन् ।
आइतबार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थीहरूबीच आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले यस्तो बताएका हुन् । उनले अपराध नियन्त्रणका लागि प्रविधिसँगै प्रहरीको उपस्थिति अपरिहार्य हुने बताए ।
राज्यको अग्रपंक्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा लगायत रहेको बताउँदै खनालले सीमावार्ती अपराध, लागूऔषध, साइबर अपराध तथा सामाजिक संजालको दुरुपयोगजस्ता गतिविधि अहिले चुनौतीका रूपमा रहेको उल्लेख गरे ।
खनालले भने, ‘अपराध नियन्त्रण गर्नका लागि सुरक्षा निकायको मात्रै नभई सबै समुदायको सहयोग र सहकार्यको महत्वपूर्ण भूमिका हुन्छ ।’ उनले विद्यार्थीहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै प्रहरीले विगतभन्दा बोली, वचन र व्यवहारमा परिस्कृत भई थप उत्कृष्ट नागरिककेन्द्री सेवा प्रदान गर्ने बताए ।
खनालले शंकास्पद गतिविधि देखेमा प्रहरीलाई तत्कालै खबर गर्न समेत विद्यार्थीहरूलाई आग्रह गरे । अपराध नियन्त्रणमा समुदायको सूचनाले ठूलो महत्व राख्ने बताउँदै उनले समुदायबाट आजसम्म प्राप्त सहयोगका लागि प्रशंसासमेत गरे ।





























प्रतिक्रिया