प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदका लागि भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ ।
आज विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
३७ जिल्लामा ५२ रिक्त पदका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रमा मतदान भएको थियो । केन्द्र र प्रदेशमा गरी ७० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन आयोगको प्रारम्भिक आकलन छ ।
आयोगका अनुसार छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । पोखरा, सर्लाही, लमजुङ र डोटीमा बम फेला परेको थियो । पोखराको चार स्थानमा बम विस्फोट भएको थियो भने अन्य जिल्लाका मतदान स्थल नजिकै फेला परेका बम नेपाली सेनाले डिस्पोज गरेको थियो ।
कास्की–२ मा प्रतिनिधिसभाका लागि तथा भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य र धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको हो ।
त्यसैगरी पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षका लागि तथा बाँकी ४३ स्थानमा वडाध्यक्ष चयनका लागि मतदान सम्पन्न भएको हो ।





























प्रतिक्रिया