शुल्क फिर्ता गर्न मेडिकल कलेज प्रतिबद्ध

शुल्क फिर्ता गर्न मेडिकल कलेज प्रतिबद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कबापतको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार राति मन्त्रालयमा भएको वार्तामा उनीहरूले शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन्।

मन्त्रालयका अधिकारी र कलेज सञ्चालकबीच भएको सहमति अनुसार बुधबारेदेखि नै शुल्क फिर्ता प्रक्रिया सुरु हुनेछ। शिक्षामन्त्री पोखरेलले भने, ‘मेडिकल कलेजहरू शुल्क फिर्ता गर्न वा आवश्यकता अनुसार समायोजन गर्न सहमत भएका छन्। यो काम बुधबारदेखि सुरु हुन्छ।’

सहमति अनुसार शैक्षिक वर्ष ०७४/ ७५ र ०७५/७६ मा सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले फिर्ता वा समायोजन गर्ने भएका छन्। दुवै शैक्षिक वर्षमा मेडिकल कलेजले विद्यार्थीसँग बैंकिङ प्रणालीबाट रकम लिएका थिए।

शैक्षिक वर्ष ०७२/७३ र ०७३/७४ का लागि सम्बन्धित विश्वविद्यालयसँगको समन्वयमा अतिरिक्त शुल्क लिएको वा नलिएका विषयमा चिकित्सा शिक्षा आयोगबाट अध्ययन गर्ने सहमति भएको छ। यस्तै शैक्षिक वर्ष ०७६/७७ का लागि भने चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क अनुसार विद्यार्थी भर्ना प्रक्रिया गर्न र वैज्ञानिक ढंगबाट शुल्क निर्धारण गर्न दुवै पक्ष सहमत भएका छन्।

सहमतिपत्रमा शिक्षा मन्त्रालयका अधिकारी तथा मेडिकल कलेजका सञ्चालकहरूले हस्ताक्षर गरेका छन्। सरकारले दुईपटकसम्म अल्टिमेटम दिँदा पनि विद्यार्थीबाट गैरकानुनी रूपमा असुलेको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूले अटेरी गरेका थिए । सरकारी निर्देशन नमानेको भन्दै अतिरिक्त शुल्क उठाउने मेडिकल कलेजलाई बुधबारदेखि ठगी अन्तर्गत पक्राउ गर्ने निर्णय गृह मन्त्रालयले गरेको थियो।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo