काठमाडौं,
मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक मङ्सिर २७ र २८ गते दाङको तुलसीपुरमा हुने भएको छ ।
‘मानव अधिकार आन्दोलनको गन्तव्यः लागू औषध, मदिरा दुर्व्यसनको अन्त्य’ भन्ने मूल नारासहित आयोजना हुन गइरहेको राष्ट्रिय परिषद् बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, विभागीय संयोजक, समाजका जिल्ला शाखाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी २०० भन्दा बढी अधिकारकर्मीको सहभागिता हुने महासचिव सुशील बस्नेतले जानकारी दिनुभयो ।
राष्ट्रिय परिषद् बैठकमा सीमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाऔँ आन्दोलन, लागू औषध/मदिरा दुर्व्यसनको अन्त्य, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि अभियान, कारागार सुधारसहित नौ प्रस्तावमा छलफल हुँदैछ ।
यसैगरी आर्थिक वर्ष ०७५/७६ को समाजको वार्षिक गतिविधि सम्बन्धी प्रतिवेदन, आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन, वार्षिक बजेट तथा कार्ययोजनासमेत प्रस्तुत हुनेछ । राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि समाजको दाङ शाखा सभापति शरद रेग्मीको संयोजकत्वमा मूल तयारी समितिसहित आधा दर्जन बढी उपसमिति गठन गरिएको छ । बैठकको सेरोफेरोमा शान्ति ¥याली, शान्ति काव्य प्रवाह, वृक्षरोपण, विद्यालयमा अन्तर्क्रिया, र सरसफाइ कार्यक्रमसमेत आयोजना हुने उहाँले बताउनुभयो ।































प्रतिक्रिया