काठमाडौं,
स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ”, मौसमविद् बासीले भन्नुभयो ।
मौसमविद्का अनुसार चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर हुने बताइएको छ ।
राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोली देशको पहाडी भूभागसहित पश्चिमी तराई भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २३ दशमलव २ डिग्री सेल्सियस रहेको थियो । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्रीमा झरेको थियो ।





























प्रतिक्रिया