चित्लाङमा अध्ययन भएको मदन भण्डारी विश्वविद्यालय काभ्रेमा बन्ने

चित्लाङमा अध्ययन भएको मदन भण्डारी विश्वविद्यालय काभ्रेमा बन्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय काभ्रेमा स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । काभ्रेको पाँचखाल नगरपालिकामा विश्वविद्यालय स्थापनाका लागि जग्गाको तय भएपछि प्रक्रिया अघि बढाइएको हो ।

यसअघि विश्वविद्यालय मकवानपुरको चित्लाङमा स्थापना गर्न अध्ययन भएको थियो । तर, प्राविधिक टोलीले त्यहाँ पायक नपर्ने बताएपछि उपत्यकाबाट करिब ४० किलोमिटरको दूरीमा रहेको पाँचखालमा स्थापना हुन लागेको हो ।

विश्वविद्यालय स्थापनाका लागि पाँचखालको चरुवामा पाँच हजार रोपनी जग्गाको टुंगो लागिसकेको र छिट्टै शिलान्यास हुने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए । विश्वविद्यालय सम्बन्धी विधेयक गत साउनमा संसदमा दर्ता भइसकेको छ । विधेयक संसदीय समितिमा छलफलको क्रममा छ ।

पाँचखालमा आयोजना नै आयोजना

पाँचखाल नगरपालिकामा एक दर्जन विकासका आयोजना अघि बढेका छन् । ६ हजार घरमा धारा पुर्याउने उद्देश्यले दुई अर्ब २२ करोड लागतको सुनकोसी पाँचखाल उपत्यका खानेपानी आयोजना केही दिन अघि मात्र सुरु भएको छ । सुनकोसी नदीबाट पलाञ्चोक मन्दिरमा पानी तानेर वितरण गर्ने आयोजना टेन्डर प्रक्रियामा गएको छ ।

त्यस्तै, हरित महिला औद्योगिक ग्राम स्थापना गर्न लागिएको छ । सार्क महिला उद्यमी र अन्य महिला उद्यमीले यहाँ १४ वटा घरेलु उद्योग स्थापना गर्न लागेका छन् । शिखरपुरमा यसको प्रक्रिया अघि बढिसकेको छ । युवाहरूका लागि युथ इनोभेसन सेन्टर स्थापना प्रक्रिया अघि बढेको छ । साथै, काठमाडौं विश्वविद्यालयको कृषि विभाग पाँचखालको अनेकोटमा स्थापना हुने भएको छ ।

विशेष आर्थिक क्षेत्र अन्तर्गत ५७ हजार उद्योग स्थापनाको प्रक्रिया पनि अघि बढेको छ । रूख कटान गरी सेज निर्माण सुरु गरिएको छ । जसबाट पाँच हजार जनाले रोजगारी पाउने नगर प्रमुख खरेलले बताए । सञ्चारमन्त्री गोकुल बाँस्कोटा, प्रदेश सांसद लक्ष्मण लम्साल र आफू मिलेर विकासलाई प्रमुख नारा बनाएर काम थालिएको खरेलको भनाइ छ । ‘हामी फरक पार्टीका भए पनि विकासमा एकजुट भएर लागेका छौँ, विकासवाद नै हाम्रो मुख्य नारा हो,’ खरेलले भने, ‘पाँचखाललाई केही वर्षभित्रै समृद्ध उपत्यका बनाउँछौँ ।’
नयाँ पत्रिकाबाट

यो पनि 

मदन भण्डारी विश्वविद्यालय: मन्त्रालयमा स्थानीयको डेलिगेशन, चलखेल भएको मन्त्रीको स्वीकारोक्ति

 

मदन भण्डारी विश्वविद्यालय कहाँ ? सरकार भन्छ चित्लाङमा, प्राविधिक टोली अध्ययनमै

Skip This
Skip This
Logo