आज मन्त्री हेरफेर : प्रधानमन्त्री

आज मन्त्री हेरफेर : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (आज) मन्त्रिपरिषद् हेरफेर गर्ने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा आफू रहेको सुनाउँदै कुनै सार्वजनिक कार्यक्रम नराख्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।

बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का केही सदस्यको जिम्मेवारी हेरफर हुने र केहीले बिदा लिनुपर्ने अवस्था आउने बताए । तर, बिदा हुनेले अक्षम भएको ठान्न नहुने पनि ओलीले बताए । ‘कसैको जिम्मेवारी हेरफेर हुन सक्छ। कोही कायमै रहन पनि सक्नुहुन्छ ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक मन्त्रीले भने, ‘कसैले बिदा लिनुपर्ने पनि हुन सक्छ। बिदा हुनेहरूलाई अन्यथा नलिन आग्रह गर्छु, अक्षम भएर हटाउन लागेको होइन।’

प्रधानमन्त्री ओलीले पार्टीमा सबैलाई पालो पुर्याउन पनि मन्त्रिपरिषद् हेरफेर गर्नुपरेको बताए । ‘यहाँ पालो पनि पुर्याउनु पर्नेछ। त्यसकारण तपाईंहरुमध्ये कसैले छोड्नु पर्ने हुन सक्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘म त्यसका लागि भोलि (बुधबार) आग्रह गर्न सक्छु। तयार रहनु होला।’

कुनै पनि मन्त्रीको नाम नतोकीकन अहिलेसम्म गरेको काम र सहयोगका लागि धन्यवादसमेत दिएका प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रम नराख्न र कतै नजान पनि आग्रह गरे। ‘म भोलि नै मन्त्रिपरिषद् पुनर्गठन तयारी गर्दैछु,’ स्रोतले भन्यो, ‘केहीले नयाँ जिम्मेवारी पाउनु हुनेछ, केहीले बिदा लिनुहुन्छ।’ बैठकमा उनले को–को हट्ने, को–को दोहोरिने र को–को थपिने भन्नेबारे भने केही जानकारी गराएनन्। ओलीले बुधबार नै मन्त्रिपरिषद् पुनर्गठन र शपथ गराउने योजना बनाएको स्रोतको दाबी छ।
नागरिकबाट

Skip This
Skip This
Logo