काठमाडौं,
नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालाई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजीत केसीले संयुक्त रुपमा रिट निवेदन दिनुभएको हो ।
वर्तमान प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा नभएको हुँदा सो नक्सालाई बदर गरी पश्चिमतर्फ लिम्पियाधुरासम्मको जमीनलाई अङ्कन गरिएको नक्सा बनाउन आदेशको माग गरिएको छ । रिट निवेदक नेपालले भन्नुभयो, “नेपाल–भारतबीच भएको सुगौली सन्धि अनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग भनी लेखिएको छ, उक्त भूभाग अतिक्रमण सुगौली सन्धिविपरीत हो ।”
रिट निवेदनमा नेपालको भूभाग एक लाख ४७ हजार १८१ वर्ग किमी छ । वर्तमान नक्सामा लिम्पियाधुराको जमीन नहुँदा क्षेत्रफलसमेत घटेको हुनसक्ने हुँदा नेपालको जमीनको रक्षा गर्न अन्तरिम आदेशको माग गरिएको छ । नेपालको संविधानमा ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्’ भनिएको भए पनि सो अनुसार सरकारले ध्यान नदिएको रिट निवेदनमा उल्लेख छ ।
सीमा मिचिएको विरोधमा प्रदर्शन
यता राष्ट्रिय सीमा अतिक्रमणसँगै राष्ट्रियतामाथि हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा दिनभरी कक्षामा बस्नुपर्ने विद्यालयका विद्यार्थी प्ले कार्ड बोकेर सडकमा ओर्लिएका छन् ।
विद्यालयकै पोशाकमा आएका विद्यार्थीले एक हातमा चन्द्रसूर्य अङ्कित नेपालको झण्डा र अर्को हातमा प्लेकार्ड बोकेर भक्तपुर परिक्रमा गर्दै ‘गो ब्याक इण्डिया’, ब्याक अफ इण्डिया’ भारतले गरेको नेपालको सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।
भक्तपुरको ब्यासीस्थित प्रभात सेकेण्डरी स्कुलका विद्यार्थीले प्लेकार्ड, झण्डा र नेपालको नक्सा मात्र नभएर भारतले एकतर्फी रूपमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी तथा लिपुलेक आफ्नो नक्साभित्र राखेको विरोधमा उनीहरुले चर्को नारा लगाएका थिए । भक्तपुरको ब्यासीबाट निस्किएको ¥यालीले भक्तपुर नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।
त्यसैगरी ‘कालापानी हाम्रो हो, सीमा मिच्न पाइँदैन’, बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर भक्तपुरको सूर्यमढीदेखि दूधपाटीसम्म सीमा अतिक्रमणविरुद्धको ¥याली प्रदर्शन गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले भन्नुभयो, “विद्यार्थीलाई देशको सिमानाबारेमा जानकारी दिनु आवश्यक छ, हामीले कक्षा ८ देखिकै पाठ्यपुस्तकमा सिमानाबारेमा अध्यापन गराउनुपर्छ, यो विषयबारे जानकारी दिन यो ¥याली आयोजना गरेका हौं ।” उहाँले ¥यालीमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी सहभागी भएको बताउनुभयो ।































प्रतिक्रिया