काठमाडौं,
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका विशिष्ट अतिथिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग मंगलबार भएको भेटमा नेपालको उक्त लक्ष्य हासिल गर्ने परिकल्पना पूरा गर्न बङ्गलादेशले हातेमालो गर्दै अघि बढ्न चाहेको बताउनुभयो ।
“बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै उहाँले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताउनु भएको मन्त्री ज्ञवालीले सरकारी सञ्चारमाध्यमका प्रतिनिधिलाई जानकारी दिनुभयो । राष्ट्रपति हमिदले बङ्गलादेशबाट अधिकतम लाभ लिन तथा द्विपक्षीय सहकार्य र साझेदारीलाई अझ घनीभूत तुल्याउनु पर्नेमा जोड दिनुभएको जानकारी पनि उहाँले दिनुभयो ।
सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवद्र्धन लगायत आपसी चासोका विविध विषयमा आफूहरूबीच विचारविमर्श भएको बताउँदै उहाँले बङ्गलादेशसँगको सुसम्बन्धलाई अझ सार्थक तुल्याएर त्यसलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्न नेपालले चाहेको जानकारी राष्ट्रपतिलाई दिनुभएको थियो ।
राष्ट्रपति हमिदको यस भ्रमणबाट नेपाल र बङ्गलादेशबीचको परम्परागत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । भेटमा परराष्ट्र सचिव शङ्करदास वैरागी, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै बङ्गलादेशका परराष्ट्र सचिव, राष्ट्रपति कार्यालयका सचिव, सञ्चार सचिव तथा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते शाम्सको उपस्थिति थियो ।
रासस





























प्रतिक्रिया