नेपाली कांग्रेसले मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर सीमा विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएको छ। त्यसैगरी उसले डडेल्धुरामा अनसन बसिराखेका डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न पनि सरकारसँग माग गरेको छ।
‘सीमा विवाद हल गर्ने जिम्मेवारी अब प्रधानमन्त्रीको हो, सर्वपक्षीय भेलामा सबैले सुझाव दिइसकेका छौं ।’ भन्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘अब बल प्रधानमन्त्रीको खुट्टामा छ। सीमा विवाद हल गर्ने विषयमा सरकारको भूमिका नियालिरहेका छौं।’
शर्माले प्रतिपक्षी दल कांग्रेसले सीमा विवाद हल गर्न र अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा सरकारले चाल्ने हरेक कदममा साथ दिने बताए । ‘तर सीमा विवाद हल गर्न सरकारले परिणाममुखी पहल गरोस्,’ उनले भने।
त्यस्तै नौ दिनदेखि अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्ने जिम्मेवारी पनि सरकारको भएको बताउँदै शर्माले भने- ‘यसका लागि तत्काल वार्ता टोली गठन गरेर जायज माग पूरा गर्ने अग्रसरता सरकारले लेओस् ।’
सात बुँदे माग राखेर डा. केसी ९ दिनदेखि डडेल्धुरामा अनशनरत छन् । उनको स्वास्थ्य अवस्था गम्भीर भइसकेको छ तर सरकारले अझैसम्म वार्ताको प्रयास गरेको छैन ।





























प्रतिक्रिया