सर्लाहीमा मोदीको पुत्ला जलाइयो

सर्लाहीमा मोदीको पुत्ला जलाइयो


सर्लाही,

भारतले नेपालको लिपुलेकसहितको भू–भागलाई आफ्नो देशको नक्साभित्र समावेश गर्दै नयाँ नक्सा सार्वजनिक गरेको भन्दै बिहिबार दिनभर सर्लाहीमा पनि विरोध प्रदर्शन भएको छ। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंस्था राष्ट्रिय युवा संघ सर्लाहीले त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला नै दहन गरेको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजारमा बिहिबार साँझ आयोजित विरोध कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीको फोटो टाँसेर बनाईएको परालको पुत्ला जलाईएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै सत्ताधारी नेकपाका केन्द्रीय सदस्यद्वय डाचाराज वाग्ले तथा बद्री न्यौपानेले भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौंदेखि गरिरहेको भन्दै भारतीय विस्तारवादको डटेर सामना गर्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।

त्यस्तै बिहिबार बिहान नै सत्ताधारी नेकपा सम्बद्ध विद्यार्थी संगठनले सदरमुकाम मलंगवा र लालबन्दीमा विरोध प्रदर्शन गरे। ‘गोे ब्याक इण्डीया’ तथा ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ भन्ने लेखिएको कालो ब्यानरसहित विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए।

त्यस्तै हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पनि बिहिबार बिहान लिपुलेक घटनाको विरोध गर्दै प्रदर्शन गरेको छ। सुखेपोखरीस्थित क्याम्पसबाट निस्किएको विद्यार्थीको ¥याली विभिन्न नाराबाजीसहित झण्डै तीन किलोमिटर पूर्व हरिवन बजारमा आएर विरोध सभामा परिणत भएको थियो। लिपुलेक घटनाबारे भारतसहित नेपाल सरकारको समेत ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघका नेता सुशिल न्यौपानेले जानकारी दिए।
नागरिकबाट

Logo