काठमाडौं,
टुँडिखेललाई अतिक्रमणमुक्त गर्न ‘अकुपाइ टुँडिखेल’ अभियान सञ्चालन गरिने भएको छ । टुँडिखेलमा भइरहेको अतिक्रमणबाट मुक्त गरेर सार्वजनिक पार्कमा परिणत गर्न अभियानस्वरूप संरक्षणकर्मी अभियन्ताहरूले यस्तो अभियान सञ्चालन गर्न लागेका हुन् ।
२३ कात्तिकमा विश्व स्वतन्त्रता दिवसको अवसर पारेर यस्तो अभियान सञ्चालन गर्न लागिएको अभियन्ता गणपतिलाल श्रेष्ठले जानकारी दिएका छन् । राजनीतिक, आर्थिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेको टुँडिखेललाई अतिक्रमण हटाएर सार्वजनिक उपयोगमा ल्याउनु पर्ने अभियन्ताहरूले माग गर्दै आएका छन् । सार्वजनिक जग्गा खुल्लै राख्न दबाब दिन अभियान सञ्चालन गर्न लागिएको अभियन्ताको भनाइ छ ।
‘हामीले टुँडिखेललाई जनताको स्वामित्वमा ल्याउने नागरिक अभियान सुरु गर्ने निर्णय गरेका छौं । यो हाम्रो विरोध होइन, स्वतन्त्र अभियान हो’, अभियन्ता श्रेष्ठले भने । अभियानका क्रममा २३ गते बिहान ८ बजे टुँडिखेलमा जम्मा भएर मानव साङ्लो बनाएर टुँडिखेल घेरिने जनाइएको छ । अभियन्ताहरूले यसमा विभिन्न राजनितिक दलका नेता, सांसद तथा हजारौं सर्वसाधारणको सहभागिता रहने दाबी गरेको छ ।
‘एसियाकै ठूलो परेड मैदान’ का रूपमा परिचित टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने नागरिक अभियान चलाएर खुला स्थानमा पार्क बनाउने सरकारलाई दबाब दिने र सर्वसाधारणलाई सहरी क्षेत्रमा पार्कको महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियन्ताहरूको भनाइ छ । टुँडिखेलको लगभग आधा भागमा सेनाको हेडक्वार्टर र खेल मैदान रहेको छ । सेनाले टुँडिखेलकै जग्गामा आर्मी अफिसर्स क्लब’ बनाएको छ । जसलाई सेनाले भाडामा लगाएर आम्दानीको स्रोतका रूपमा उपयोग गरिरहेको छ ।
रत्नपार्क र सैनिक मञ्चबीचको खुलामञ्चमा काठमाडौं महानगरपालिकाले पार्किङ स्थल बनाएको छ । केही वर्ष अघिसम्म राजनीतिक दलका आमसभा हुने खुलामञ्चसमेत अतिक्रमणमा पर्दै आएको छ । अभियानबाट सबै प्रकारका अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउने र सार्वजनिक हित र आपतविपदमा उपयोग गर्न सकिने बनाउने उद्देश्य अभियानको रहेको अभियन्ताले बताएका छन् ।
राजधानीबाट





























प्रतिक्रिया