राष्ट्रपति छठ पूजाका लागि गुहेश्वरीमा

राष्ट्रपति छठ पूजाका लागि गुहेश्वरीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

राष्ट्रपति विद्यादेवी भण्डारी छठपर्वको उपलक्ष्यमा शनिबार गुहेश्वरी जानु भई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गर्नुभयो ।

छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गर्नुभएको हो ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गरेका छन्। त्यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य लगायतको पनि उपस्थिति रहेको थियो।

छठपर्वको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिने गरिन्छ । उक्त ठाउँमा नदीको दुवै किनारमा ६५० भन्दा बढी छठी माताको पूजाका लागि पूजाघाट निर्माण गरिएको छ । नदीका दुवै किनार बिजुली बत्तीले झकिझकाउ पारिएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठपर्व बिहीबारदेखि शुरु भएको हो । ‘महाभारत’मा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा आश्रय लिएको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणा अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुया छठ व्रत बसेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ । छठपर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । छठी मातालाई झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रशन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता अनुरुप भक्तजनले सिङ्गो केराको घरी, भोगटे, बिमिरो, उखु, नरिवलजस्ता माटो माथि र माटोमुनि फल्ने मौसम अनुसारको फलफूल चढाउने गर्दछन् ।

Logo