प्रधानमन्त्रीको डायलाइसिस गरियो, स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी लुकाउने प्रयास

प्रधानमन्त्रीको डायलाइसिस गरियो, स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी लुकाउने प्रयास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ । ‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

अस्पताल प्रशासनले प्रधानमन्त्रीका विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । ‘अस्पतालको निर्देशकका रूपमा मेरो पहिलो काम भनेको बिरामीको उपचार हो । प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा जानकारी दिन आग्रह नगरेसम्म मैले केही पनि भन्न मिल्दैन । मेरो बाध्यता बुझिदिनुस्,’ निर्देशक पाण्डेले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ९ बजे अस्पताल लगिएको बताए । ‘उहाँ नियमित परीक्षणका लागि अस्पताल जानुभएको हो । परीक्षणको रिपोर्ट आएपछि बालुवाटार फर्कनुहुन्छ,’ उनले भने ।

तर ग्रान्डीकै केही चिकित्सकले यसलाई नियमित फलोअप भन्न नसकिने टिप्पणी गरे । ‘यो नियमित फलोअप होइन,’ एक चिकित्सकले भने, ‘स्वास्थ्य समस्याका लागि विशेष परीक्षण, उपचार प्रक्रियाको क्षमतायुक्त अस्पताल नै पुर्‍याउनुपर्ने बाध्यताले उहाँलाई ल्याइएको हो ।’ उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यस्थिति, उपचार आदिबारे अन्य चिकित्सक, पदाधिकारीलाई समेत सूचना दिइएको छैन । निजी चिकित्सक शाह र अर्का चिकित्सक दिलीप शर्मालाई मात्र रिपोर्ट हेर्न दिइएको छ ।
कान्तिपुरबाट

Logo