ट्रकको ठक्करबाट सिन्धुपाल्चोकमा एक बालकको मृत्यु

ट्रकको ठक्करबाट सिन्धुपाल्चोकमा एक बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ दुवाचौरमा मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

दुवाचौरबाट ढुङ्गा बोकेर जाँदै गरेको बा५ख २९५४ नंको मिनीट्रकले ठक्कर दिँदा सोही गाडीका धनी कृष्ण श्रेष्ठका छोरा १३ वर्षीय राजनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

यस्तै सुनसरीको दुहवीमा शनिबार भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी रहेको छ । दुहवी नगरपालिक–२ दङ्गा नियन्त्रण प्रहरी गण गेट अगाडि को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरी जवान रेग्मीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालय कामको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सुनसरी जाने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते हुने प्रहरी जवान २८ वर्षीय किरण कठायतको नोबेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बसलाई दङ्गा नियन्त्रण प्रहरी गण दुहवीले नियन्त्रणमा लिएको छ भने बस चालक सुनसरीको भोक्राहा गाउँपालिका–३ बस्ने ३९ वर्षीय पन्च नारायण मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

यता पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती पुल नजिकै ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०२–०००१ त नं. को ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स ११ प ४६३७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दुर्गेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा मोटसाइकलमा सवार कृष्णा मुखिया घाइते भएका छन् । उनको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको छ ।

दाङ्गमा करेन्ट लागेर मृत्यु

करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ४७ वर्षीय टिकाराम भण्डारी रहेका छन् ।

आफ्नै घरमा मोटर लगाएर कुवाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

बस दुर्घटनाः ११ यात्रु घाइते

डडेल्धुराको जोरायल गाउँपालिका–२ गरुडमा शनिबार नै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख ८२३५ नं को बस दुर्घटनामा परेको हो ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । डडेल्धुराको अमरगढी नगरपालिकाका २५ वर्षीय बसका चालक सुरेन्द्र विष्ट, बैतडी पाटनका ३० वर्षीय नरेश चन्द, डडेल्धुरा भागेश्वरका २२ वर्षीय तारा जोशी र दाङ तुलसीपुरका १९ वर्षीया लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विकले जानकारी दिनुभयो । उनीहरुलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया पु¥याइएको छ । दुर्घटनाको कारणबारे खुलेको छैन । बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।
रासस

Logo