काभ्रे,
पाँचखाल युनाइटेड फुटबल एशोसिएसन पाँचखालको आयोजनामा दोश्रो पाँचखाल महोत्सव आयोजना गरिएको छ ।
महोत्सवको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले गर्नु भएको छ । महोत्सवको उद्घाटन गर्दै मन्त्री बास्कोटाले पाँचखाल कृषि र औधोगिक क्षेत्रका रुपमा अगाडी बढेको बताउनु भयो । मन्त्री बास्कोटाले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय कनेक्टिभिटीका रुपले पनि पाँचखाल महत्वपूर्ण नाका रहेको छ । पाँचखालमा यस्ता मेलाहरुको सम्भावना भोलिका दिनमा अझै बढ्नेछ । जुन शुरुवात भएको छ त्यो राम्रो कार्य हो ।
बाटो हिडिसकेपछि जसलाई पनि हिडन् आउँछ । यो बाटो खन्ने कार्य गरेकोमा धन्यवाद दिन चाहन्छु । भविश्यका लागि यो राम्रो कार्यको शुरुवात हो । पाँचखालमा विशाल सम्भावना छ । विशाल सम्भावनालाई हामी क्रमशः अगाडी बढाईरहेका छौं । बढाउने छौं । आउने केहि वर्षमा साँच्चै परिवर्तन देखिनेछ । यो परिवर्तनलाई थेग्ने ठुलो स्थान पाँचखाल हुनेछ । मेला महोत्सव गर्ने, प्रचार प्रसार गर्ने कामले झनै त्यसलाई महत्व दिन्छ । पुर्खाहरुले पहिला पनि यस्ता कार्यक्रमहरु तराईमा हाट बजारका नाममा गर्थे भने पहाडमा विभिन्न खालका जात्राहरु हुँदा यस्ता कार्यक्रमहरु हुन्थे । संस्कृतिका रुपमा यस्ता महोत्सवलाई अगाडी बढाउनु पर्छ ।’
मन्त्री बास्कोटाको पहलमा पाँचखाल क्षेत्रमा १८ वटा आयोजना संचालन भईरहेका छन् । वडा अध्यक्ष हरि खतिवडाका अनुसार मन्त्री बास्कोटाको पहलमा पाँचखालको विशेष आर्थिक क्षेत्रको निर्माण कार्य अगाडि बढेको छ । उक्त क्षेत्रका लागि १६ करोड लगानीमा भबन निर्माण कार्य भईरहेको छ । पाँचखालमा दुई अर्ब लगानीमा पाँचखाल उपत्यका बृहत खानेपानी सुरुवात भएको छ ।
महोत्सवमा पाँचखाल नगरको संस्कृति झल्कने, कृषि उपजलाई बढावा गर्दै कृषि उत्पादन तथा नगरका पर्यटकिय स्थलहरुका प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष मिलन श्रेष्ठले बताउनु भयो । महोत्सवको पूर्व सन्ध्यामा स्थानीय संस्कृति झल्कने ऐतिहासिक लाखे नाच, धिमे बाजा, हिले नाच, विभिन्न संघ संस्थाको ब्यानर सहितको झाँकी प्रदर्शन गरिएको थियो । पाँचखाल बजार परिक्रमा गरी महोत्सव स्थल पुगेको उक्त ¥याली पछिको सभामा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, नगरपालिका प्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, विभिन्न क्षेत्रका ब्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो । महोत्सवमा एक सय भन्दा धेरै स्टल राखिएका छन् ।असोज २९ गते देखि शुरु भएको महोत्सव कार्तिक ९ गते शनिबारसम्म चल्नेछ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया