काठमाडौं,
बलात्कारको प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखाएपछि उनको बयान लिने काम अवरुद्ध भएको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिनु अघि उनीसँग कुराकानी गरेको थियो । त्यस लगत्तै महराले छाती दुखेको बताएपछि विहीवारदेखि उनी नर्भिक अस्पतालमा उपचारका क्रममा छन् ।
‘हाम्रै अगाडी बयान लिनु अघि सामान्य कुराकानी भएको हो, बयान लिन थाल्नै लाग्दा उहाँले स्वास्थ्यमा समस्या भएको बताएपछि अस्पताल भर्ना हुनु भएको हो, त्यसपछि बयान हुने कुरै भएन’ काठमाडौंका एक सरकारी वकिलले भने, ‘कम्तीमा पनि अब आइतबारसम्म सार्वजनिक विदा परेकाले त्यसपछि मात्रै बयान होला ।’
फौजदारी अभियोगमा पक्राउ परेका आरोपितलाई प्रहरीले सरकारी वकिलको रोहवरमा बयान लिनु पर्ने कानुनी व्यवस्था छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता हविन्द्र बोगटीले स्वास्थ्य समस्याका कारण महराको प्रहरी हिरासतकै अवस्थामा नर्भिक अस्पतालमा उपचार भइरहेकाले बयान सुरु हुन नसकेको बताए । उनले भने, ‘बिरामी अवस्थामै त बयान लिन मिलेन नि ।’ बयान बाहेक उजुरीमाथिको अनुसन्धान भने जारी रहेको उनले बताए ।
कान्तिपुरबाट





























प्रतिक्रिया