धनगढी ।
नेकपाको दुई तिहाइ बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारमा फेरबदलको संकेत देखिन थालेको छ। पार्टी केन्द्रमा देखिएको विभाजनले आफ्नो गुटको नेतृत्वमा सरकार बनाउने प्रयास हुन थालेको छ। ‘प्रचण्ड–माधव गुट आफैंले पनि अहिलेको सरकार परिवर्तन गर्न सक्ने सुनिएको छ’, एक प्रदेशसभा सदस्यले भने, ‘हैन भने केपी पक्षका प्रदेशसभा सदस्यहरूले कांग्रेस र राजपासँग मिलेरै भए पनि प्रदेश सरकार परिवर्तन गर्न सक्ने सम्भावना छ।’
सरकारले राम्रो काम नगरेको भन्दै यसअघि सत्ता पक्षकै सांसदले दुईपटक सरकार परिवर्तनका प्रयास गरेका थिए। पहिलो प्रयास नेता लेखराज भट्टले रोकेका थिए। डोटीबाट जितेका त्रिलोचन भट्ट नेता भट्टकै पहलमा संसदीय दलका नेता हुँदै मुख्यमन्त्री भएका थिए। तर, पछि मुख्यमन्त्री भट्ट गुट परिवर्तन गरी नेता भीम रावलतिर लागे। त्यसपछि पनि सत्ता पक्षकै सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी गरे। ‘त्यतिबेला भीम रावलले मान्नु भएन र सरकार ढलेन’, ती प्रदेशसभा सदस्यले भने।
५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ जना छन्। यीमध्ये तत्कालीन एमालेबाट २५ र माओवादी केन्द्रबाट १४ जना हुन्। पार्टी विभाजनसँगै ओली पक्षमा १३ जना देखिएका छन्।
‘सरकार बनाउन २७ जनाको बहुमत चाहिन्छ। केपी शर्मा ओली पक्ष, कांग्रेस र जसपा मिले सरकार परिवर्तन हुन सक्छ’, ओली पक्षका प्रदेशसभा सदस्य महेशदत्त जोशीले भने, ‘१३ जना हामी, १२ जना कांग्रेस र २ जना जसपाका प्रदेशसभा सदस्यले सरकार बनाउन सकिन्छ।’ दाहाल–नेपाल पक्षकै कतिपय प्रदेशसभा सदस्य भट्ट नेतृत्वको सरकारको विरोधमा छन्। ‘धेरैलाई यो सरकारको रवैया मन परेको थिएन। अहिले सत्ता पक्षले नै परिवर्तन गरे ठिकै भयो। हैन भने छिट्टै अविश्वास आउन सक्छ’, प्रदेशसभा सदस्य जोशीले भने।
प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले अहिलेको प्रदेश सरकारको काम नरहेको बताए। ‘ओली पक्षका नेताहरूबाट नयाँ मिलिजुली सरकार बनाउन अफर आएको छ’, नेता रावलले भने, ‘केही नेताले त कांग्रेसलाई मुख्यमन्त्री पनि दिनुपर्छ भनेका छन्। तर, यसबारे कांग्रेसको धारणा अहिले नै बनिसकेको छैन।’
उनले यसबारे पार्टी सभापति शेरबहादुर देउवासँग कुराकानी भइरहेको बताए। ‘पार्टी सभापतिज्यूसँग यसबारे कुराकानी भइरहेको छ। अहिले कांग्रेसको विरोध कार्यक्रम पनि छ’, उनले भने, ‘अझ नेकपाको पार्टीको पूरै सिनारियो पनि आइसकेको छैन। त्यो आएपछि हामी के गर्नुपर्छ भन्ने कुराको टुंगोमा पुग्छौं।’
मुख्यमन्त्री भट्टले प्रदेश सरकार स्वायत्त भएकाले संघको परिवर्तनको कुनै असर नपर्ने बताए। ‘प्रदेश सरकार आफैँमा स्वायत्त सरकार हो। संविधानले प्रदेश सरकारलाई आफ्नै अधिकार दिएको छ’, मुख्यमन्त्री भट्टले भने, ‘त्यसैले अहिले सरकार फेरबदलको कुनै सम्भावना देखिँदैन।’ अन्नपूर्णबाट





























प्रतिक्रिया