संविधान दिवसको अवसरमा ६ सय ३४ जना विभूषित

संविधान दिवसको अवसरमा ६ सय ३४ जना विभूषित

केन्द्रबिन्दु
0
Shares

सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा सम्मानित गरेको छ। यो वर्ष ६ सय ३४ जनालाई पदकद्वारा विभूषित गरिएको छ। जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरकी डाक्टर अनन्थरमन भाथसाला पनि छिन् । उनलाई ‘सुप्रसिद्ध प्रवल जनसेवा श्री’ मानपदवी दिएको छ।

सरकारले विभूषण पाउनेहरूको सूची शुक्रबार सार्वजनिक गरेको छ।

त्यसमा सबैभन्दा ठूलो महाउज्ज्वल राष्ट्रदीप  पदक साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई दिइएको छ। त्यसपछिको दोस्रो मानपदवी पाउनेमा डाक्टर अनन्थरमन पनि हुन्। उनी प्रधानमन्त्री  ओलीको उपचारमा संलग्न थिइन्।

प्रधानमन्त्री ओली गत साउन र भदौमा दुवै पटक उपचारका लागि सिंगापुर जाँदा उनकाे उपचारमा अनन्थरमन संलग्न थिइन्।

अनन्थरमनसँगै अन्य तीनजना भारतीय चिकित्सकलाई पनि सोही हैसियतको मानपदवी दिइएको छ। पदवी पाउने चिकित्सकमा म्याक्स ग्रुप अफ हस्पिटल भारतका अनन्त कुमार, इन्स्टिच्युट अफ एडल्ट रिकन्स्ट्रक्सन, स्पोर्टस् इन्जुरी एन्ड ज्वाइन्ट रिप्लेसमेन्टका राजीवकुमार शर्मा र एपोलो हस्पिटल दिल्लीका प्रमुख हर्ष दुवा छन्।

यस्तै, सरकारले प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहलाई पनि सोही मानपदवी दिएको छ। सोही मानपदवी स्वर्गीय पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पनि दिइएको छ। याे सम्मान जम्मा ७ जनालाई दिइएकाे छ ।

त्यस्तै उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र प्रा.डा. भगवान कोइरालासहित ८ जनालाई प्रदान गरिएको छ। गृहका अनुसार सुप्रवल जनसेवाश्री ११३, कीर्तिमय राष्ट्रदीप ७, प्रवल जनसेवा श्री (चतुर्थ) २०२, जनसेवा श्री (पञ्चम श्रेणी) ११० जनालाई प्रदान गरिएको छ। नागरिक तथा राष्ट्रसेवकले प्राप्त गर्ने अलङ्कारबाट ७ विभूषित हुने भएका छन्।

नेपाली सेनाले मात्र प्राप्त गर्ने परम पौरखबाट सहायक रथी विनोद पाण्डे विभूषित भएका छन्। सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप सुभूषण ३० जनाले प्राप्त गरेका छन्।

नेपाली सेनाले मात्र प्राप्त गर्ने अतिपौरख भाष्करबाट २०, सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप आभूषणबाट २३, समाजसेवा रत्नबाट १६, नेपाली सेनाले मात्र प्राप्त गर्ने महापौरख भाष्करबाट ४३, सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप भूषणबाट १६ जना सम्मानित भएका छन्।

पदकतर्फ लोकश्री १, राष्ट्रसेवक २, सत्कार्य पदक १, शिक्षाज्योति पदक ५, सगरामाथा पदक १, सुकीर्ति पदक ६, वीरता पदक ५ र शौर्य पदक ६ जनालाई प्रदान गरिएको छ।

रक्षामन्त्रीको अध्यक्षतामा विभूषण छनोट समिति गठन गरिएको थियो। समितिले अन्तिम नामावली पठाएपछि मंगलबार साँझ मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो।

 

Skip This
Skip This
Logo