भक्तपुर,
काठमाडौँको महाबौद्धमा रहेको वीर अस्पताल विस्तार गरी एक हजार पाँच सय शैयाको अस्पताल बनाउने सरकारको निर्णय अन्योलमा परेको छ । चार वर्ष अघि सरकारले वीर अस्पताललाई भक्तपुरको चाँगुनारायणस्थित दुवाकोटमा ५७० रोपनी जग्गा उपलब्ध गराएर एक हजार पाँच सय शैयाको अन्तर्राष्ट्रिय स्तरको ठूलो अस्पताल बनाउने निर्णय गरेको थियो ।
अस्पताल बनाउन चीन सरकारले सहयोग गर्ने घोषणा गरेको थियो । कुल ५० अर्ब रुपियाँ लगानीमा चीन सरकारले बनाइदिने उक्त अस्पताल चिनियाँ प्राविधिक समूहले विस्तृत परीक्षण गरेपछि दुवाकोट अस्पताल बनाउन माटो अनुपयुक्त रहेको निष्कर्ष निकाल्यो ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले तत्काललाई दुवाकोटमा वीर अस्पताल विस्तार गर्ने सरकारी योजना नरहेको बताउनुभयो । चिनियाँ प्राविधिक टोलीले त्यहाँको माटो ठूलो भवन बनाउन उपयुक्त नभएकाले वीर अस्पताल नबन्ने निश्चित भएको बताउनुभयो ।
दुवाकोटमा एक हजार पाँच सय शैयाको अस्पतालसहित विभिन्न प्राज्ञिक तथा प्रशासनिक संरचना बनाउने गरी बृहत् गुरुयोजना बनिसकेको थियो । “चिनियाँ टोलीले दुवाकोटको जग्गा नै अनुपयुक्त भएको प्रतिवेदन दिएपछि रोकियो”, राज्यमन्त्री यादवले थप्नुभयो, “सोही प्रतिवेदनले गर्दा गत वर्ष सरकारले छुट्याएको बजेट फ्रिज भएर गयो । ”
उहाँले अन्यत्र ठाउँ खोजी वीर अस्पताल विस्तार गर्न सकिने बताउनुभयो । तर चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले समुद्रमाथि र तलसमेत मानिसको बस्ती बसिसकेको विश्व जगतमा दुवाकोटमा अस्पताल बनाउन हुन्न भन्नु हास्यास्पद भएको बताउनुभयो । उहाँले चिनियाँ पक्षले भौतिक पूर्वाधार नभएकाले पूर्वाधार विकास गर्न भनेको बताउनुभयो । उहाँले सडक विस्तारका लागि नगरपालिकाले २५ करोड रुपैयाँ छुट्ट्याएको बताउनुभयो ।
गोरखापत्रबाट































प्रतिक्रिया