काठमाडौं,
नेपालको आग्रहलाई भारत र पाकिस्तानसहित सार्क सदस्य राष्ट्रले स्वीकारेपछि न्यूयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्री स्तरीय बैठक हुने भएको छ । राष्ट्रसंघीय ७४ औं महासभाको ‘साइडलाइन’ मा सार्क विदेशमन्त्री स्तरीय बैठक हुन लागेको हो । नेपाल सार्कको अध्यक्ष हो । आगामी असोज ९ मा उक्त बैठक हुनेछ ।
भारत–पाकिस्तानसहित सदस्य मुलुकका विदेशमन्त्री सहभागी हुने उक्त बैठकमा अनौपचारिक रूपमा सार्कको आगामी शिखर सम्मेलनमा छलफल हुनेछ ।
भारत–पाक सम्बन्धका कारण सार्क शिखर सम्मेलन चार वर्षदेखि भएको छैन । गत साउन २० मा भारतले जम्मु–कश्मीरलाई दिएको विशेष दर्जा खारेज गरेपछि उत्पन्न विवादबीच पनि सार्कको साइडलाइन बैठक निश्चित हुनुलाई नेपालले सार्कको सुखद आरम्भ भनेको छ । सार्क अध्यक्षको हिसाबले नेपालले यसमा जोड दिँदै आएको परराष्ट्र मन्त्रालयले बताएको छ । सार्क अध्यक्ष नेपाल र सार्क सचिवालयको समन्वयमा बैठक तय भएको परराष्ट्र अधिकारीले बताए ।
हरेकवर्ष महासभाको ‘साइडलाइन’ मा यो बैठक बस्दै आएको छ। भारत– पाकिस्तान लगातार तनावसँगै पछिल्लो मुख्य विवाद जम्मु–कश्मीर मामिलाका कारण यो बैठकप्रति आशंका थियो । तर भारत र पाकिस्तान दुवैले सहभागिता जानाउने बताएका छन् । सार्कका अन्य सदस्य राष्ट्र बंगलादेश, भुटान, श्रीलंका, अफगानिस्तान र माल्दिभ्स पहिले नै सहमत थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क विदेशमन्त्रीको अनौपचारिक बैठकको अध्यक्षता गर्नेछन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया