जब प्रधानमन्त्री सेनाको सलामी लिन र पत्रकारसँग बोल्न मानेनन्

जब प्रधानमन्त्री सेनाको सलामी लिन र पत्रकारसँग बोल्न मानेनन्


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्किएका छन् । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्किएका हुन् ।

त्यस अवसरमा उनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा प्रधानमन्त्रीको स्वागतका लागि सरकारका मन्त्री, नेकपा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । त्यही भिडमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू पनि थिए । विगतमा विदेशबाट फर्किएपछि आफ्नो भ्रमणबारे सञ्चारकर्मीहरूलाई जानकारी गराउने गरेका थिए ।

विमानस्थलको अति विशिष्ठ कक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो भ्रमणबारे जानकारी गराउँथे । तर यो पटक भने प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्न अस्वीकार गरे । ‘भ्रमण र आफ्नो स्वास्थ्यबारे एक दुई दिनमै थाहा पाइहाल्नु हुन्छ’ भन्दै प्रधानमन्त्रीले प्रक्रिया दिन अस्वीकार गरेका हुन् ।

स्वदेश फर्किने बेला प्रधानमन्त्रीलाई नेपाली सेनाले सलामी दिने प्रचलन थियो । तर यो पटक सेनाको सलामी समेत अस्वीकार गरे । सेनाको सलामी र पत्रकारसँग कुराकानी गर्न नमान्नुको कुनै कारण बाहिर आएको छैन् । तर पनि प्रधानमन्त्री ओलीले आफ्नो अनौपचारिक भ्रमण रहेकाले सेनाको सलामी अस्वीकार गरेको जनाएका छन् । ‘म कुनै औपचारिक भ्रमणमा गएको होइन्, आफ्नो उपचारको लागि गएको हुँ । सलामी आवश्यक छैन्’ प्रधानामन्त्रीले भनेका थिए ।

१२ वर्ष अघि मृर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली गत श्रावण १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । स्वास्थ्य परीक्षणको सबै रिर्पोट प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । स्वागतका लागि पुगेका नेता, मन्त्रीहरुसँग भने प्रधानमन्त्री ओली हँसिलो मुहारका साथ प्रस्तुत भएका थिए ।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर गएका थिए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको रिर्पोट प्राप्त भएको छ ।

Logo