काठमाडौं,
सबै प्रदेश सरकारले आ–आफ्नै प्रदेशमा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना बनाएका छन् । खाद्य वस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैंले एक,एक वटा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरिएको सार्वजनिक गरेका हुन् ।
शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा चाडबाडको बेलालाई लक्षित गरेर आयोजना गरेको बजार अनुगमन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रदेश ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशालाको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसका लागि आवश्यक योजना पनि तय गरिएको प्रदेशका मन्त्रीहरूको भनाइ छ । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले जनस्वास्थ्यमाथि खेलबाड हुन नदिन प्रदेश ५ ले भैरहवामा खाद्य वस्तुको विषादी परीक्षणका लागि एउटा प्रयोगशाला स्थापना गर्न लागिएको जानकारी दिए ।
प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेपालले पनि हेटौंडामा दूध, तरकारी र पानीको परीक्षण हुने गरी प्रयोगशाला निर्माण गर्ने जानकारी दिए । उनले चाडबाडका बेला बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश सरकारलाई स्रोतसाधनले सम्पन्न बनाउन पनि संघीय सरकारसँग आग्रह गरे ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लम्सालले खाद्य वस्तुको बजार अनुगमनका लागि बजार अनुगमन निर्देशिका बनाएर कामलाई अघि बढाइएको जानकारी दिए । उनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा पनि जोड दिए ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले संघीय सरकारले बजार अनुगमनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने माग गरे । उनले कर्णाली खाद्यान्नको हिसाबले पछि परेको हुनाले त्यसमा विशेष व्यवस्था गर्न पनि संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
नागरिकबाट





























प्रतिक्रिया