मकवानपुर,
प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशालाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । सोमबार हेटौंडा औद्योगिक क्षेत्रस्थित माटो परीक्षण प्रयोगशालामै विषादी अवशेष परीक्षण प्रयोगशालाको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।
हेटौंडामा जस्तै ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक उपकरण र सामाग्री हस्तान्तरण गरिएको छ । पाँच स्थानका लागि एक करोड ८० लाख रुपैयाँको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायन लगायत खरिद गरिएको प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुख निर्मल गदालले बताए । उनका अनुसार प्रयोगशालाले प्रतिघण्टा तरकारी र फलफूलको ३० वटासम्म नमुना परीक्षण गर्ने क्षमता रहेको छ । पाँच वटै प्रयोगशालाको लागि तीन–तीन जना प्राविधिकलाई प्रयोगशाला सञ्चालन सम्बन्धी तालिम दिइएको छ भने दुई–दुई जना युवा कृषि स्वयंसेवकलाई खटाउने मन्त्रालयले जनाएको छ ।
यस्तै भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले माटो परीक्षण घुम्ती प्रयोगशाला (बस) पनि हस्तान्तरण गरेको छ। हेटौंडाको माटो परीक्षण प्रयोगशालालाई हस्तान्तरण गरिएको घुम्ती प्रयोगशाला (बस) ८० लाख ९४ हजार रुपैंयाँको खरिद गरेको हो । प्रतिदिन माटोको ३० नमुना परिक्षण गर्ने भ्यानबाट प्रदेशका वार्षिक रुपमा १२ हजार किसान परिवार प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले दाबी गरेको छ ।
नागरिकबाट































प्रतिक्रिया