काठमाडौं,
झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ६४ अर्ब रुपियाँ लगानी स्वीकृत गरेसँगै सो पार्क निर्माण हुने भएको हो । सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समेत बैठकले स्वीकृति प्रदान गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको लगानी बोर्डको बैठकले पार्क निर्माणका लागि ६४ अर्ब रुपियाँ स्वीकृत गरेको हो । सो पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समेत स्वीकृति प्रदान गरेको जानकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दिनुभयो ।
तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानीमा ‘दमक क्लिन इन्डस्ट्रियल पार्क’ नाम दिएको सो पार्क निर्माण हुन लागेको हो ।
लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रदेश १ को राजधानी विराटनगरमा ‘लजिस्टिक पार्क’ निर्माण गर्नका लागि सीजी ग्रुप र सर्राफ ग्रुपलाई अध्ययन गर्ने अनुमति दिइएको जानकारी समेत प्रमुख कार्यकारी अधिकृत अधिकारीले दिनुभयो । यो पार्क निर्माणका लागि भदौमा सम्पन्न लगानी सम्मेलनमा सीजी ग्रुप र सर्राफ ग्रुुपबीचमा समझदारी पत्रमा (एमओयू) मा हस्ताक्षर भएको थियो ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष ओलीले कसरी परियोजनाहरूको कार्यान्वयन छनोटका कार्यहरू चाँडो छिटोछरितो गर्न सकिन्छ र त्यसका उपायहरू चाँडोभन्दा चाँडो लिएर आउन निर्देशन दिनुभएको जानकारी प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो ।
गोरखापत्रबाट































प्रतिक्रिया