काठमाडौँ,
सरकारले अगाडि सारेको सुखी नेपाली र समृद्ध नेपालको नारामा बढ्दो व्यापारघाटाले चुनौती थपेको छ । व्यापारघाटा १३ खर्ब २१ अर्ब पुगेपछि सरोकारवालाको ध्यान आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्नेमा केन्द्रित भएको छ ।
२५ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) द्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापारघाटाले चुनौती थपेको बताएका हुन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७५/७६ मा नेपालको व्यापारघाटा साढे १ खर्बले बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आव २०७४/७५ मा नेपालको कुल व्यापारघाटा ११ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो तर, गत आवमा आइपुग्दा सो व्यापारघाटा डेढ खर्बले बढ्दै १३ खर्ब २१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । नेपाली उत्पादनलाई विश्वव्यापी गराउन सके मात्र व्यापार सन्तुलन गर्न सकिनेमा जोड दिँदै उपराष्ट्रपति पुनले निर्यात व्यापारको वृद्धिमार्फत मात्रै समृद्ध नेपाल निर्माणको अभियानलाई साकाररूप दिन सकिने बताएका छन् ।
“हामी प्राकृतिक स्रोत साधनले सम्पन्न छौं, जलविद्युत् निर्यात गर्ने चरणमा पुगिसकेका छौं भने पानी, जडीबुटी लगायत हामीलाई प्रकृतिले दिएको उपहारलाई निर्यात गर्न सक्छौं, यो सम्पन्नतालाई उच्चतम् उपयोग गर्दै निर्यात गरे मात्रै पनि व्यापारघाटालाई कम गर्न सक्छौं,” उनले भने ।
निर्यात व्यापार वृद्धिका लागि कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले आयातभन्दा निर्यातलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि भूमिका खेल्न आग्रह गरे ।
कारोबारबाट































प्रतिक्रिया