बैतडी,
बाँयातिर नेपाली झण्डा गाडिएको छ । भवनमाथि गाउँपालिकाको साईनबोर्ड छ । एउटा कोठामा स्थानीय सरकार र अर्कोमा मदिरा पसल बेजोडले चलेको छ भन्दा पत्याउन मुश्किल पर्छ । तर, सबैलाई चकित पार्ने यो यथार्थ बैतडी जिल्लाको सिगास गाउँपालिकामा दिनानुदिन चलिरहेको छ ।
सिगास गाउँपालिका केन्द्र गर्जेमा खानेपानीको धारा छैन । सडक र बिजुली पनि पुग्न सकेको छैन । यहाँ दूध, तरकारी र फलफूल पनि पाइन्न । तर खच्चरमा ढुवानी गरेर त्यहाँ छ्यापछ्याप्ती मदिरा उपलब्ध गराइएको छ । गाउँपालिकाको यही भवनमा सिगास गाउँपालिका वडा नं. ८ का अध्यक्ष कर्णबहादुर ऐरले मदिरा पसल संचालन गरेका छन् ।
गाउँपालिका कार्यालयको प्राङगणमा रक्सीका सिसीहरू छरपस्ट देखिन्छन् । यहाँ जनप्रतिनिधि, सेवाग्राही र कर्मचारी दिउँसै मदिरा सेवन गरी लठ्ठिएको अवस्थामा भेटिने गरिएको स्थानीयको जनगुनासो छ । मदिरा पसल बन्द गर्न स्थानीयबासीले पटक पटक माग गरे पनि कुनै सुनुवाई नभएको स्थानीय युवा राजेन्द्र साउदले बताए ।
गाउँपालिकाले मदिरा नियन्त्रण र नियमन गर्न निर्देशिका जारी गरिए पनि नियन्त्रण र नियमन गर्ने निकायका जनप्रतिनिधिले नै यस्तो धन्दा गरेपछि स्थानीय दिक्क भएका छन् ।
कुनै पनि सार्वजनिक स्थलमा मदिरा बिक्री गर्न पाईने छैन भनेर निर्देशिकामा उल्लेख भए पनि गाउँपालिका भवनमै मदिरा पसल सञ्चालन गरेर जनप्रतिनिधिले नै निर्देशिकाको खिल्ली उडाएको स्थानीयले गुनासो गरेका छन् । ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने उखान वास्तविक अर्थमा त्यहाँ चरितार्थ भएको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया