कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट

कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आई केही उच्च नेतालाई भेटेर फर्किएका छन् । करिब एक महिना अघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए । यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपाल आएका उनले सोही दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौंस्थित भारतीय दूतावासमा र सोमबार बिहान सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवास खुमलटारमा भेट गरे ।

कांग्रेस सभापति देउवासँग ‘रअ’ प्रमुख गोयलले भेटेको विषयलाई स्रोतले पुष्टि गरे पनि देउवाको सचिवालयले भने अस्वीकार गरेको छ । उनका स्वकीय सचिव भानु देउवाले सभापति देउवाले ‘रअ’ प्रमुखसँग भेटवार्ता नगरेको बताए । तर भारतीय दूतावास स्रोतले सभापति देउवासँग भेट भए पनि खासै कुरा केही नभएको दाबी गरेको छ ।

नेकपा अध्यक्ष दाहालको सचिवालयले पनि सुरुमा यो विषयलाई गोप्य नै राख्न खोजेको थियो । तर पछि गोयलसँग भएको भेटलाई दाहालको सचिवालयले पुष्टि ग¥यो । गोयलले दाहालसँग छोटो समय भेट गरेको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्रीसँग भेट गरेपछि सत्तारुढ दलका अध्यक्षका हिसाबले अध्यक्षज्यूसँग पनि रअ प्रमुख गोयलले भेट गरेका हुन्,’ दाहालको सचिवालयका एक सदस्यले भने, ‘भेट औपचारिक मात्र भएकाले सामान्य कुराकानी मात्र भयो ।’

गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेको दाबी स्रोतको छ । तर ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले यसलाई ठाडै अस्वीकार गरे । प्रधानमन्त्रीसँग ‘रअ’ प्रमुखले भेटेको भन्ने विषय प्रोपोगान्डा मात्र भएको बताउँदै उनले भने, ‘हुँदै नभएको कुरालाई भेटेको भनेर भ्रम सिर्जना गर्न खोजिएको छ ।’

‘रअ’ प्रमुखले राजनीतिक नेतृत्वसँग भेटघाट गरे पनि यसबारे परराष्ट्र मन्त्रालय बेखबर छ । मन्त्रालयका एक उच्च अधिकारीले यसबारे मन्त्रालयलाई जानकारी नभएको बताए । कूटनीतिक आचारसंहिता अनुसार सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वले विदेशी अधिकारीसँग परराष्ट्र मन्त्रालयमार्फत भेट्नुपर्छ र भेटमा मन्त्रालयका अधिकारी पनि सहभागी हुनुपर्छ ।

दक्षिण एसियामा आफ्ना खुफिया गतिविधिका कारण चर्चामा रहने ‘रअ’ प्रमुखसँग भेट गर्दा पूर्वप्रधानमन्त्रीहरुले कूटनीतिक आचारसंहिता लत्याएको मात्र नभई भेटलाई पनि गोप्य राख्ने प्रयास गरेको पाइएको छ । अर्को मुलुकको गुप्तचर प्रमुखसँग पूर्वप्रधानमन्त्री तथा पार्टीको मूल नेतृत्वले गोप्य रुपमा भेट्नुले अझ बढी आशंका सिर्जना गरिदिएको छ । अर्को मुलुकको खुफिया अधिकारीलाई भेट्दा कूटनीतिक आचारसंहिताको पालना नगर्नु र भेटलाई नै गोप्य राख्न खोज्नुलाई कूटनीतिक मामिला जानकार राजनीतिक नेतृत्वको अपरिपक्वता र कमजोरी भन्छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo