काठमाडौं महानगरपालिकाले आगामी ३ वर्ष भित्र मोनोरेल संचालनमा ल्याउने बताएको छ ।
काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष भित्र मोनोरेलको उचित व्यवस्था गरी संचालनमा ल्याउने उल्लेख भएको बताए ।
नीति तथा कार्यक्रममा हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिनाथलगायतका क्षेत्रलाई पर्यटकीय हवका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । यस्तै हनुमानढोकादेखि स्वयम्भूसम्मको पुरातात्विक सम्पदा पदमार्गलाई कार्यान्वयनमा लगिने र महानगरपालिकाभित्र रहेका ऐतिहासिक, पुरातात्विक भवनलाई सिटी आर्टस्को रुपमा रुपान्तरण गरी अध्ययन र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्ने महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण गर्न उपत्यकाभित्र छिर्ने नाकामा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी भेईकल क्लिनिङ सेन्टर निर्माण गर्ने जनाएको छ । महानगरपलिकाका प्रवक्ता ईश्वरमान डंगोलले उपत्यकाभित्र प्रदूषण र धुवाधुलोलाई नियन्त्रण गरी महानगरलाई ‘नो मास्क जोन’को रुपमा विकास गरिने बताए । प्रवक्ता डंगोलले विपद् व्यवस्थापनका लागि पाँच ठाउँमा अध्याधुनिक उपकरणको व्यवस्था गरिने जानकारी दिए ।
ज्येष्ठ नागरिकहरुलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ पनि संचालनमा ल्याउने महानगरपालिकाको योजना छ । त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको प्रवक्ता डंगोलले बताए । त्यसैगरी सहरको मुख्यमुख्य चोकहरुमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तरगत हाईमास बत्ती जडान गर्ने कार्यक्रम पनि चालू आर्थिक वर्ष भित्र संचालनमा ल्याउने गरी तय गरिएको पनि प्रवक्ता डंगोलले बताए ।
यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि ‘भर्टिकल पार्किङ’ र ‘अण्डरग्राउन्ड पार्किङ’ को अवधारणा तय गरि कार्यान्वयनमा ल्याउन थालिएको छ ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।





























प्रतिक्रिया