कालिकोट,
जिल्लाको पलाँता गाउँपालिका ९ थिर्पुस्थित कर्णाली नदीमा रहेको काठ र जालीको जोखिमयुक्त पुल भत्काइने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले चासो राखेपछि कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले उक्त प्रयोगविहीन पुल भत्काउन प्रहरीलाई निर्देशन दिएका हुन् ।
लामो समयदेखि फलामको लठ्ठामा काठ र जाली जोडेर निकै जोखिमयुक्त पुलमा स्थानीयहरू आवतजावत गर्दै आएकोमा गत वर्ष उक्त ठाउँमा नयाँ झोलुङ्गे पुल सञ्चालनमा आएको थियो । तर तुइनसँग तुलना गरेर पुरानै पुलको फोटो सामाजिक सञ्चालमा चर्चामा आएपछि पुलको विषयमा प्रधानमन्त्री सचिवालयले चासो देखाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई टेलिफोन गरी पुलको अवस्था बुझेका थिए । सरकारको बदनाम गर्न फोटो प्रयोग भएको भन्दै प्रयोगविहीन पुरानो पुल भत्काउन प्रहरीलाई निर्देशन दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पुल भत्काउन स्टमेट बनाउन इलाका प्रहरी चौकी थिर्पुलाई निर्देशन दिइसकेको बताए । उनले तत्काल प्रयोगविहीन जोखिमयुक्त पुल भत्काइने बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया