सिरिन्ज फोबियाका बिरामी अस्पताल आउने क्रम जारी

सिरिन्ज फोबियाका बिरामी अस्पताल आउने क्रम जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रहरी कार्यालयमा यतिखेर ‘सिरिन्ज आक्रमण’को उजुरी रोकिएको छ । तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने ‘सिरिन्ज फोबिया’ का बिरामी दैनिकजसो उपचारका लागि पुगिरहेका छन् । प्रहरीले युवतीमाथि तीखो वस्तु प्रहार गर्ने व्यक्तिलाई असारको दोस्रो सातामै पक्राउ गरी कारबाही गरिसकेको छ । त्यही समयतिर बनेपामा युवतीले युवतीलाई सिरिन्जले घोचेको घटना सार्वजनिक भएको थियो। त्यसमा संलग्न रहेको आशंकामा पक्राउ परेकी युवतीलाई कुनै घटना गराएको आधार नभेटिएको भन्दै छाडिएको थियो ।

पछिल्लो समय सिरिन्ज आक्रमणबारे उजुरी नआएको प्रहरीले जनाएको छ । अस्पतालमा भने दैनिकजसो सिरिन्ज आक्रमण भयो भन्दै युवायुवती उपचारमा पुग्ने क्रम नरोकिनुलाई आश्चर्यजनक रूपमा हेरिएको छ । टेकु अस्पताल अन्तर्गतको अनुसन्धान एकाइका संयोजक डा. शेरबहादुर पुनका अनुसार सिरिन्ज आक्रमण भयो भन्दै दैनिक दुई, तीन जना अस्पताल आइरहेका छन् । उनीहरूले घोचेको भागमा कुनै खतरा भए÷नभएको जानकारी र औषधि माग गर्ने गरेको डा. पुनको भनाइ छ ।

उनीहरूका भनाइमाथि अध्ययन गर्दा यथार्थमा सिरिन्जले घोचेको कुनै आधार भेटिन्न । डा. पुनका अनुसार हुलमुलमा पुगेका बेला, बसमा यात्रा गरिरहेको बेला, हिडिँरहेको बेला कोही छोइँदा समेत सिरिन्ज आक्रमण भएको आशंका गरेको पाइएको छ । यसरी आउनेमा युवतीहरूको संख्या बढी छ । उनीहरू साँच्चैको घटनाभन्दा पनि सिरिन्ज आक्रमणको फोबियाले ग्रसित भई अस्पताल पुगेको चिकित्सकहरूको ठम्याइ छ ।

अस्पतालमा सिरिन्ज घोचेको भन्दै पाँच वर्षीय बालिकालाई समेत उपचारका निम्ति ल्याएको डा. पुनले सुनाए । ‘बच्चा खेलिरहेको हुन्छ, सिरिन्जले घोचेको दाग छ भन्दै आमा उपचारका लागि लिएर आएको पनि पाइयो,’ उनले भने, ‘एउटै बसमा अरूको ब्यागले छोइँदा समेत सिरिन्जले घोचेको ठानेर अस्पताल आएका बिरामी पनि छन् ।’ कतिपय फोबिया भएका बिरामीले चिकित्सकले भनेको कुरा नपत्याएपछि घण्टौं परामर्श दिनुपरेको पुनले सुनाए ।
नागरिकबाट

Logo