एक सातामै उप्कियो बेनीमा असारे पिच

एक सातामै उप्कियो बेनीमा असारे पिच

केन्द्रबिन्दु
0
Shares

बेनी,

बेनीको सडक कालोपत्रे गरि नसक्दै उप्किन थालेको छ । गत हप्तादेखि सुरु भएको बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाका सडकमा कालोपत्रे गर्ने काम सोमबार दिउँसोसम्म चलिरहेको थियो । नगरपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिले गरेको कालोपत्रे एक हप्ता पनि टिक्न नसकेको हो । गत बिहीबार बेनीको गणेशटोलको सडकमा गरिएको कालोपत्रे उप्किन थालेको स्थानीय शिव पूर्जाले बताए ।

‘झमझम पानी परेको बेलामा पिच गरिएको थियो । पानीले भिजेको अलकत्रा नजमेपछि उप्किन थालेको छ,’ पुर्जाले भने ‘बजेट सक्न हतार हतारमा टालटुले पाराले काम गर्दा टिकाउ हुन सकेन।’

पहिलेको पिचमाथि बिटुमिन हालेर बिच्छ्याइएको रोडा उप्किन थालेको छ । गाडी गुड्ने क्रममा रोडा उछिट्टिएर सडक किनारामा हिँड्नेलाई चोट लाग्ने गणेशटोलका गणेश भट्टराई बताउँछन् । एक हप्ता यता सक्रिय भएको मनसुनका कारण म्याग्दीमा दैनिकजसो वर्षा भैरहेको छ । सडक कालोपत्रे टिकाउ नहुँदा राज्यको लाखौँ बजेट दुरुपयोग र खेर जाने स्थानीयबासीको चिन्ता छ ।

पानीले कालोपत्रेमा प्रयोग गरिने बिटुमिन (अलकत्रा) जम्न नदिने भएकाले वर्षा भैरहेको अवस्थामा गरिने पिच टिकाउ नहुने प्राविधिकहरूले बताएका छन् । निर्माण ब्यवसायीले बढी नाफा निकाल्न प्राविधिक र सरोकारवालाको आँखा छलेर रातको समयमा बिटुमीनमा पानी मिसाएर सडक पिच गर्ने विकृति पनि छ ।

‘बर्खायाम पिच गर्ने समय नै होइन, पानी परेको बेला भएको पिच त टिक्दै टिक्दैन,’ एक इञ्जिनियरले भने ‘नियमनकारी निकायको पहुँच पुग्ने ठाउँमै भएको यस्तो लापरबाही असारे विकासको नाममा भइरहेको बजेट दुरुपयोगको उदाहरण हो।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo