काठमाडौं । सरकारले सडक ठेक्का लिएर अपलत्र पारेको भन्दै शैलुङ कन्सट्रक्सन कम्पनीलाई कारवाही गर्ने भएको छ । नगरकोट जाने सडकको ठेक्का लिएर अलपत्र पार्ने ठेकेदार कम्पनी शैलुङ कन्सट्रक्सनलाई सडक विभाग अन्तरगतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले कारवाही गर्न लागेको हो ।
नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी समेत रहेका शैलुङ कन्सट्रक्सनका मालिक शारदा अधिकारीलाई निर्देशनालयले ३ करोड रुपैयाँ जरिवाना गर्न लागेको हो । उनको कम्पनीले कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडक निर्माणको ठेक्का लिएको थियो ।
सडक निर्माणमा ढिलासुस्ती र लापरवाही भएकाले शैलुङलाई ठेक्का रकमको १० प्रतिशत अर्थात झण्डै ३ करोड रुपैयाँ जरिवाना गर्न लागेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए ।
२०७१ को जेठबाट निर्माण सुरु भएको १६ किलोमिटर सडकको काम सम्झौताअनुसार २०७३ को जेठसम्म सक्नुपर्ने थियो । तर अहिलेसम्म ५४ प्रतिशत मात्रै वित्तीय प्रगति भएपछि कारवाही गर्न लागिएको प्रजापतिले बताए ।
आयोजनाको हालसम्म ४ पटक म्याद थप भएको छ । शैलुङले आगामी जेठसम्ममा सडक निर्माणको लागि पछिल्लो पटक म्याद पाएको छ । कम्पनीले भने आगामी कार्तिकसम्म सबै काम सकेर सडकलाई हस्तानतरण गर्ने जनाएको छ । भारतीय एक्जिम बैंकको ३० करोड लगानी रहेको सडकको काम राम्रोसँग नभएपछि यसअघि ७ लाख हर्जना तिर्नुपरेको थियो ।
‘क’ वर्गको निर्माण कम्पनी भएपनि शैलुङले कम एमाउन्टमा आयोजना हात पार्ने र वर्षौसम्म अलपत्र पार्दै आएको थियो । उक्त कम्पनीको चर्को आलोचना भएपछि सरकारले गल्ती भेटिएमा कारवाही गरिने बताएको थियो । प्रचण्डका घरबेटी भएकाले उनीमाथि कारवाही हुनेमा शंका गरिएकै बेला निर्देशनालयले यस्तो कदम चालेको हो ।































प्रतिक्रिया