काठमाडौं । प्रधानमन्त्री शर्मा केपी ओलीले वर्तमान सरकारको विरोध गर्नकै लागि केहीले काठमाडौंमा मास्क लगाउन थालेको बताएका छन् । केहि दिन अघिको एक कार्यक्रममा उनले वर्तमान सरकार आएपछि काठमाडौंको धुलो धुवा हटेर मास्क लगाउने घटेको बताएका थिए । प्रधानमन्त्रीको उक्त भनाईको चौतर्फी विरोध हुन थालेपछि आफ्नो विरोधीहरुले फेरि मास्क लगाउन थालेको बताएका हुन् ।
शुक्रवार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्तिको बचाउँ गर्दै भने, ‘मेरो नेतृत्वमा सरकार बन्ने बेलामा धूलोका कारण मास्क नलगाई हिँड्न सक्ने अवस्था नै थिएन, अहिले त्यो घटेको छ भनेको थिएँ केही तत्वहरूले मेरो विरोध गर्नकै लागि मास्क लगाउन थालेका छन् । मास्क लगाउने बानी बसाल्नु त स्वास्थ्यका लागि राम्रो हो नि !’
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले डा. बाबुराम भट्टराई मात्र नभएर फोरम पनि नेकपामा अटाउन सक्ने बताए । ‘प्रचण्डजीले बाबुरामजीलाई पार्टीमा आउन आह्वान गर्नुभयो, बाबुरामजी मात्र किन ? फोरमकाहरू पनि आउनुस् न । नअटाउने कुरै छैन,’ ओलीले भने, ‘अरू पार्टीमा लागेर अल्मलिएका साथीहरूलाई म हार्दिक रूपमा आह्वान गर्दछु ।’
प्रधानमन्त्री ओलीले आइफा अवार्डबारे सरकारी तहबाट निर्णय नै नभई विरोध गरिएको भन्दै असन्तुष्ट जनाए । २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको उनको दाबी छ । उनले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरिएको थियो तर अर्बौं खर्च भनेर हावा कुरा गरियो ।’
सरकार सम्झौता पूर्व सौदाबाजीमा रहेकै बेला ‘लौ सर्वनाश हुने भो’ भनेर संसदीय समितिमार्फत अनधिकृत निर्देशन दिन लगाइएको प्रधानमन्त्रीको आरोप छ ।































प्रतिक्रिया