काठमाडौं,
संघीय संसदका सांसदले दसैं भत्ता माग गरेका छन् । श्रमिकदेखि कर्मचारीसम्मले दसैंमा एक महिना बापतको भत्ता पाउने भन्दै सांसदले पनि सरकारसँग भत्ता मागेका हुन् ।
अन्य क्षेत्रमा वर्षको १३ महिना भत्ता पाउने तर सांसद र उनीहरूको सचिवालयमा काम गर्ने कर्मचारीले नपाउने गरेको कारण समस्या भएको सांसदको तर्क छ । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा सांसदहरूले आफ्नो सचिवालयका कर्मचारीलाई मात्रै भएपनि दसैं भत्ता उपलब्ध गराउन माग गरे ।
‘सबै श्रमिक तथा सरकारी कर्मचारीले दसैंमा थप एक महिनाको तलब भत्ता स्वरूप पाउँछन्’, राष्ट्रियसभा सदस्य विना पोख्रेलले भनिन्, ‘हाम्रा सचिवालयका कर्मचारी र हामीले पनि यो सुविधा पाउनुपर्छ ।’
०५८ अघि सांसदले एक वर्षमा दसैं सुविधासहित १३ महिनाको तलब पाउने गरेका थिए । तर तत्कालीन समयमा संसदले २०५८ असोज अन्तिममा दसैं भत्ता कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै २०५६, ०५७ र २०५८ सालको दसैंमा पाएको सुविधानसमेत सांसदले फिर्ता गर्नु परेको थियो ।
‘त्यो बेला दसैंमा सुविधा कटौति गरेपछि सर्वोच्चमा रिट परेको थियो’, समिति सदस्य राधेश्याम अधिकारीले भने, ‘सर्वोच्चले कानुन बनाएर भत्ता लिनु भनेको थियो तर त्यो विषय यतिकै हरायो ।’
संघीय संसद अन्तर्गतका सदस्यले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम सम्पूर्ण सुविधासहित एक लाख ९ हजार ७३० रुपैयाँ पाउँदै आएका छन् । जसमा पारिश्रमिक अन्तर्गत सांसदले ५५ हजार २३० पाउँछन् । यस्तै, संसद बैठक वा समिति बैठक बसेमा बैठक भत्तावापत दिनमा थप एक हजार पनि पाउँदै आएका छन् ।
सांसदले उठाएको प्रश्नको जवाफ दिन पुगेका अर्थमन्त्री डा. युवराज खतिवडाले यस विषयमा सरकारसम्म कुरा पुर्याउने आश्वासन दिए । ‘सांसदले १३ महिनाको सुविधा पाउनुपर्छ भन्ने तपाईँहरूको मागलाई सरकारसम्म पुर्याउनेछु’, उनले भने ।
अन्नपूर्णबाट





























प्रतिक्रिया