विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र प्रहरी

विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र प्रहरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक खटिएका छन् । विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सुरक्षाकर्मी खटिँदा सशस्त्र प्रहरीको एक बटालियन जनशक्ति नै कार्यक्षेत्रभन्दा बाहिर रहेको छ ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ । तर मापदण्ड विपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ । स्रोतका अनुसार विशिष्ट व्यक्तिको सुरक्षाका लागि दुई जना डिएसपी, ८ इन्स्पेक्टर, ३७ सई, १९ असई, ३३ वरिष्ठ हबलदार, ५० हबलदार, १ सय १६ सहायक हबलदार र २ सय ४५ जवान परिचालित छन् । त्यस्तै १९ परिचर र १७ चालक पनि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् ।

सबैभन्दा बढी निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका लागि दुई डिएसपीको कमान्डमा १ सय ११ जना खटाइएको छ । त्यसैगरी प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि ४६ जना सशस्त्र प्रहरी खटिएका छन् । यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवासमा सुरक्षा बेस क्याम्प खुमलटार नाम दिएर प्रहरी निरीक्षकको कमान्डमा ४८ जना सशस्त्र प्रहरी खटिएका छन् । यो संख्या सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको एउटा बोर्डर आउट पोस्ट (बिओपी) मा खटिने जनशक्ति बराबर हो । अन्य पूर्वप्रधानमन्त्रीका लागि भने ८ देखि २१ जनासम्मको टोली खटिएको छ ।

नेपाली कांग्रेस सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लागि २१, झलनाथ खनालका लागि १८, माधवकुमार नेपालका लागि १५, लोकेन्द्रबहादुर चन्दका लागि १४, कृष्णप्रसाद भट्टराईको आश्रममा ८, बाबुराम भट्टराई निवासमा ८, खिलराज रेग्मीका लागि ९ जना सुरक्षाकर्मी खटिएका छन् ।

कार्यविधि विपरीत सुरक्षाकर्मी सुविधा दुरुपयोग गर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद वामदेव गौतम, भीम रावल, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, कांग्रेस नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजय गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, गोविन्दराज जोशी, डा. रामशरण महत, प्रकाशशरण महत, अमरेशकुमार सिंह रहेका छन् । यस्तै राप्रपाका अध्यक्ष कमल थापा, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वगृहसचिव श्रीकान्त रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा, पूर्वगृहसचिव नारायणगोपाल मलेगो, पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरासमेत छन् । पूर्वमन्त्री खुमबहादुर खड्का र पूर्वमन्त्री माधव घिमिरेको निधनपछि पनि उनीहरुको घरको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएका छन् ।
नागरिकबाट

Logo