धनकुटा,
जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं २ जोरपाटीस्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक यशुन ओझाको कुटपिटबाट तीन छात्रा घाइते भएका छन् ।
प्लाष्टिकको पाइपले शिक्षक ओझाले कुटपिट गर्दा कक्षा–१० मा अध्ययनरत चन्द्रकला मगर, विभूति सुब्बा र अस्मिता मगर घाइते भएका हुन् । कक्षाकोठमा विज्ञान विषयको प्रश्न सोध्ने क्रममा उत्तर नदिएपछि ३ छात्रालाई शिक्षक ओझाले शरीरको विभिन्न भागमा जथाभावी कुटपिट गरेको पीडित छात्राहरूले बताएका छन् । कुटपिटबाट छात्राहरूको पिडुला, हात र पिठ्यूँमा नीलडाम रहेको छ ।
प्लाष्टिकको पाइपले कुटपिट गर्न थालेपछि आफूलाई उत्तर आए पनि त्रासले बिर्सिएको घाइते छात्रा विभूतिले बताइन् । ओझाले विगतदेखि नै छात्र–छात्राहरूलाई कुटपिट गर्ने गरेको पीडित विद्यार्थीहरूले बताएका छन् ।
शिक्षक ओझाको कुटाइको कारण दुखाइले गर्दा राति निदाउन पनि नसकेको एक अभिभावकले बताइन् । उनले भनिन्, ‘सुरुमा अप्ठेरो गरेर हिँडेको देखेपछि सोधपुछ गर्दा अन्यत्र पनि नीलडाम देखें’, उनले भनिन्, ‘छोरीलाई शिक्षक ओझाले गोरु चुटाइ चुटेछन् ।’ घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी दुखाइ कम हुने औषधि सेवनपछि हिँड्डुलमा सहज भएको घाइते छात्राहरूले बताए । घाइते छात्राका अभिभावकले कुटपिटमा संलग्न शिक्षक ओझालाई लिखित रुपमा कारबाहीको माग गरेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया