नुवाकोट,
नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जमा अवैध ढङ्गले संरक्षित मानिएका दुर्लभ वन्यजन्तुको चोरी शिकारीको खतरा बढ्न थालेपछि निकुञ्जले यसबिरुद्ध सक्रियता बढाएको छ । सो क्रममा संरक्षित वन्यजन्तुलाई लक्ष्यित गरी गैरकानुनी रुपमा राखिएका पासो निकुञ्जले धमाधम वरामद गरिरहेको छ ।
निकुन्जको धुन्चेस्थित कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतका वन जङ्गलको सर्च अभियानमा वन्यजन्तुलाई मार्नका लागि राखिएका अवैध पासो वरामद गरेको हो । सर्च अभियान अर्थात् महाहन्ट अप्रेशन अन्तर्गत गत फागुनदेखि हालसम्म भएका प्रगतिबारेमा जानकारी दिँदै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) सुष्मा रानाले विशेष अभियानमा निकुन्जको संरक्षण, सम्वद्र्धन र वन्यजन्तुको वचाउका लागि सफलता प्राप्त भएको बताउनुभयो ।
जनावर मार्नका लागि तस्करबाट राखिएका २२ थान तारको पासो रसुवादेखि नुवाकोट हुदै सिन्धुपाल्चोकसम्मका भू–भागको अनुगमन गर्दा बरामद गरिएको उहाँले जानकारी दिनुभयो । ‘निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेना कालिजङ्ग गणका अधिकृत तथा जवान र कार्यालयका कर्मचारीसमेतको संयुक्त गस्तीले गत फागुनदेखि आफ्नो कार्यक्षेत्रका जङ्गल इलाकाको सर्च अभियानकोे क्रममा पासोहरू भेटिएका थिए, जसलाई हामीले बरामद गरेका हौ, प्रमुख संरक्षण अधिकृत रानाले जानकारी दिँदै भन्नुभयो–‘ फेला परेका जनावरमध्ये दुई घाइते जनावरलाई उद्वार र मरेका चार जनावरलाई व्यवस्थापन गरिएको छ ।’
उहाँका अनुसार यस बाहेक अनाधिकृत रुपमा निकुञ्जभित्र ड्रोन क्यामरा प्रयोग गर्ने विदेशी नागरिकहरुलाई नियन्त्रणमा लिनुका साथै अवैध रुपमा कटान गरिएका संरक्षित र दुर्लभ काठहरु बरामद गरिएको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया