काठमाडौं,
औषधि व्यवस्था विभागले देशभरका ९४ वटा औषधि पसललाई कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरेको विभागले जनाएको छ । कारबाहीमा परेका औषधि पसलमध्ये ५८ लाई सचेत गराइएको छ भने १६ वटालाई बन्द गराइएको छ । १७ वटा औषधि पसललाई निलम्बन गरिएको छ । यस्तै, तीन वटा औषधि पसलविरुद्ध मुद्दा दायर भएको छ ।
दर्ता नभएको, प्रतिबन्धित औषधि बिक्री वितरण भएको, अनुमतिपत्र नलिई व्यवसाय गरिरहेको, एलोप्याथिक पसलमा आयुर्वेदिक औषधि बिक्री वितरण हुने गरेको र नवीकरण नभएको लगायतका अवस्थामा औषधि पसल सञ्चालन गरेको भन्दै कारबाही गरिएको औषधि व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार औषधि पसल आफ्नो नाममा दर्ता गर्ने र पसल सञ्चालनका लागि अर्कै व्यक्तिलाई दिने गरेको भेटिएपछि केही पसललाई कारबाही पनि गरेको जनाएको छ ।
यस्तै, पाँच प्रकृतिका औषधि फिर्ता पठाइएको छ । एफई–३५ ब्याचको फेक्जोलर, मुम्पिर वइन्टमेन्ट, पोल्जिन एनजेट १५ एमजी नामक औषधि फिर्ता पठाइएको छ । यस्तै, रिङगर ल्याक्टेट सोलुसन फर इन्जेक्सन आइपी नामक औषधि पनि बजारबाट फिर्ता पठाइएको छ ।
ती औषधिहरू भारतीय र नेपाली कम्पनीबाट उत्पादन भएको औषधि व्यवस्था विभागले जनाएको छ । बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरूको नमुना परीक्षण गर्दा न्यूनगुणस्तर भएको भन्दै बजारबाट फिर्ता पठाइएको हो ।
राजधानीबाट





























प्रतिक्रिया