ट्याक्सीको नयाँ मापदण्ड ल्याइँदै

ट्याक्सीको नयाँ मापदण्ड ल्याइँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

यातायात व्यवस्था विभागले ट्याक्सी सेवालाई गुणस्तरीय बनाउन नयाँ मापदण्ड तयार पारेको छ । प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पु¥याइएको छ । मन्त्रिपरिषद्बाट निर्णय हुन भने बाँकी छ ।

नयाँ मापदण्ड अनुसार ट्याक्सीमा न्यूनतम् १२ सय सीसीको क्षमता तोकिएको छ । हाल आठ सय सीसीसम्मका ट्याक्सीलाई मान्यता दिइएको छ । नयाँ मापदण्डमा साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारले वर्गीकरण गरिएको छ ।

ट्याक्सी वर्गीकरणले फरकफरक भाडादर कायम गर्नेछ जसले गर्दा सस्तो र महँगो भाडा तिर्न सक्नेहरूले आफ्नो रोजाइमा प्रयोग गर्नसक्ने विभागका सूचना अधिकारी तीर्थराज खनालले बताउनुभयो ।

ट्याक्सीमा सामान राख्न पनि सहज हुनेगरी मापदण्ड तोकिएको छ । साथै, भित्र बढी खुला स्पेस हुनु पर्नेछ । इन्जिन क्षमता र ग्राउन्ड क्लियरेन्स कम हुँदा सामान्य खाल्टाखुल्टीमा वा कच्ची सडकमा ट्याक्सीलाई असहज हुने भएकाले थप मापदण्ड तोकिएको विभागको भनाइ छ । एसीका साथै यात्रुमैत्री सिट हुनुपर्नेछ ।

ट्याक्सीमा सुरक्षा फिचर्स पनि अनिवार्य गरिने भएको छ । हरेकले स्मार्ट प्रविधि जडान गर्नु पर्नेछ । हाल विभागले नयाँ ट्याक्सी दर्ता रोकेको छ । ट्याक्सी २० वर्ष चलाएपछि पुनः सोही नम्बर प्लेटमा सट्टा दर्ता भने गरिएको छ । विभागका अनुसार उपत्यकामा दस हजार ट्याक्सी दर्ता छन् तर ट्याक्सी व्यवसायीले भने नयाँ मापदण्डको विरोध गरेका छन् ।
गोरखापत्रबाट

Logo