साउनमा भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने

साउनमा भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने


काठमाडौं,

भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने तयारी भइरहेको छ । भ्रमणको तयारीबारे मंगलबार भारतका विदेशसचिव विजयकेशव गोखलेले दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यसँग साउथ ब्लकमा छलफल गरेका छन् ।

‘भारतका महामहिम राष्ट्रपतिज्यूको नेपाल भ्रमणको मिति तय भएको छैन, भ्रमणको तयारी भइरहेको छ,’ नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीले दिल्लीबाट भने, ‘विदेश सचिवसँगको भेटमा राष्ट्रपतिको भ्रमण, परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक लगायत विषयमा छलफल भयो । कुनै पनि विषय फाइनल भएको छैन ।’

राजदूत आचार्य र विदेशसचिव गोखलेबीचको छलफलमा रेग्मी र भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डिभिजन हेर्ने सहसचिव पीयूष श्रीवास्तव पनि सहभागी थिए । तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि वर्तमान राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका हुन् ।
नयाँ पत्रिकाबाट

Logo