भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले मंगलबार साँझ गुठी विधेयक फिर्ता लिईन्। चौतर्फी दबाब र आन्दोलनले चर्को रुप लिन थालेपछि मन्त्री अर्यालले बाध्य भएर विधेयक फिर्ता लिएकी हुन् ।
यसअघि मन्त्री अर्यालले गुठियारसम्बद्ध केही व्यक्तिहरुसँगको छलफलमा राष्ट्रिय सभामा दर्ता भएको विधेयक कुनै हालतमा फिर्ता नहुने बताएकी थिइन्। मन्त्री अर्यालले आम जनसमुदायमा भ्रम छर्ने कोसिस भएकाले विधेयक फिर्ता लिएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
तर, विडम्बना मन्त्रालयले जारी गरेको उक्त दुई बुंदे विज्ञप्तिमा डेढ दर्जन त्रुटी फेला परेको छ । कुनै हालतमा विधेयक फिर्ता नलिने अडानमा रहेकी मन्त्री अर्यालले आफ्नै बोली फिर्ता लिनु परेपछि आवेशमा सही गरिन् अथवा कर्मचारीले आफ्नो क्षमताको सदुपयोग गर्न जानेनन् । त्यो मन्त्रालयभित्रको आन्तरिक कुरा भयो। तर, मन्त्रालयले जारी गरेको महत्वपूर्ण विज्ञप्तिमा देखिएको त्रुटीले भने मन्त्रालयको कार्यशैलीमै प्रश्न चिह्न ठडिएको छ ।
यतिबेला मन्त्रालयको यो विज्ञप्ति सामाजिक संजालहरुमा भाइरल भैरहेको छ । ‘अब विज्ञप्तिमा भएको त्रुटीहरुको बारेमा अर्को विज्ञप्ति निकाल्ने कि ?’ सामाजिक संजाल प्रयोगकर्ताहरु यसरी टिप्पणी गरिरहेका छन् ।






























प्रतिक्रिया