चक्रपथको कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने

चक्रपथको कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

चक्रपथको कलङ्की–महाराजगञ्जखण्डको बिस्तार प्रक्रिया अगाडि बढाइएको छ । दोस्रो चरण अन्तर्गत विस्तार गरिने चक्रपथको उक्त खण्डको सीमा क्षेत्रमा रहेका भौतिक संरचनाहरु हटाउन काठमाडौँ चक्रपथ सुधार योजनाले १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले चक्रपथको कलङ्की–महाराजगञ्जखण्डको विस्तार प्रक्रिया अगाडि बढाउन चक्रपथको उक्त खण्डको सीमा क्षेत्रमा परेका स्थायी तथा अस्थायी संरचनाहरु हटाउन १५ दिने सूचना जारी गरिएको जानकारी दिनुभयो ।

चक्रपथको केन्द्रविन्दुबाट दायाँबायाँ ३१/३१ मिटरसम्मको सीमा क्षेत्रमा रहेका भौतिक संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको जानकारी योजना प्रमुख रिमालले दिनुभयो । चक्रपथको सोे खण्डको ‘साइट क्लियरेन्स’ का लागि समेत नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी, ढल, वन विभाग लगायतका सम्बन्धित निकायलाई पत्राचार भइसकेको जानकारी समेत उहाँले दिनुभयो ।

चक्रपथको उक्त खण्डको भौतिक संरचना हटाउन तथा ‘साइट क्लियरेन्स’ का लागि आगामी आर्थिक वर्षमा ४५ करोड रुपियाँ विनियोजन गरिएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

करिब ८.२ किलोमिटर दुरी रहेको चक्रपथको सो खण्डको सीमा क्षेत्रमा पर्ने भौतिक संरचनाहरु निर्धारित समयावधिभित्र नहटाइएको खण्डमा आयोजनाले सार्वजनिक सडक ऐन अनुसार भौतिक संरचनाहरु आफैँ हटाउने सो वापत लाग्ने खर्च पनि सम्बन्धित संरचना धनीबाट नै असुल उपर गरिने जानकारी समेत योजना प्रमुख रिमालले दिनुभयो ।

चीन सरकारको सम्पूर्ण आर्थिक र प्राविधिक सहयोगमा विस्तार गरिने चक्रपथको सो खण्डको सीमा क्षेत्रमा पर्ने स्थायी तथा अस्थायी संरचनाहरु सन् २०१८ को जुनसम्ममा हटाउन चीनले यसअघि नेपाल सरकारलाई आग्रह गरेको थियो ।

‘डीपीआर’ तयार हुँदै

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्डको रुपमा रहेको कलङ्की–महाराजगञ्जको विस्तारको तयारी तीव्र गतिमा भइरहेको बताउँदै उक्त खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य भइरहेको जानकारी दिनुभयो ।
गोरखापत्रबाट

Logo