काठमाडौं,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राप्तीसोनारी गाउँपालिका–१ लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार उक्त वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनाले सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी सहज तवरले काठ उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग पाँच लाख बराबर घुस माग गरेको आरोप लागेको छ । साल, सिसौ लगायतका काठ र दाउरा लिलाम बिक्रीका लागि भएको बोलपत्र फर्म दर्ता गरिदिने र बोलपत्रसमेत पारिदिने भनी घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले अध्यक्ष र कोषाध्यक्षलाई बिगो बमोजिमको जरिवाना र कैद सजायकोसमेत माग गरेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले रुपन्देही जिल्ला अदालत बाल इजलाशमा कार्यरत बालमनोविज्ञ शान्तिदेवी अधिकारीले बालमनोविज्ञान प्रतिवेदन सरलरुपमा तयार पारिदिइ छिटो पेशी गराइदिन्छु भनी सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगको बुटवल कार्यालयबाट गएको टोलीले उनलाई घुस रकमसहित सिद्धार्थनगर–८ स्थित नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रको गाडी ग्यारेजबाट घुस रकमसहित पक्राउ गरेको हो ।
त्यस्तै आयोगले सर्लाही र रौतहटमा भारतीय सहयोगमा निर्माण भएको वाग्मती नदी नियन्त्रण आयोजनाको काममा जल उत्पन्न प्रकोप नियन्त्रण विभागका तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागका उपमहानिर्देशक खोमराज दाहाल र सोही कार्यालयका कर्मचारीले ठेकेदारसँग मिलेमतो गरी ठेकेदारलाई फाइदा हुने गरी काम गरी ८५ लाख ९० हजार ६२० बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया