धरहरा निर्माणको काम १५ प्रतिशत सकिंदा ४० करोड सकियो

धरहरा निर्माणको काम १५ प्रतिशत सकिंदा ४० करोड सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’ को रूपमा रहेको धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा निर्माण गर्ने अठोट गरेका थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रधानमन्त्री ओलीले गत पुस १२ गते धरहरा निर्माणको शिलान्यास गरेका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्धारित समयभित्र नै धरहराको निर्माण कार्य सकिने लक्ष्यसहित काम भइरहेको बताउँदै तालिका अनुसार नै निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिए । धरहरा निर्माणमा अहिलेसम्म ४० करोड रुपियाँ खर्च भइसकेको छ ।

अहिले धरहराको टावर ठड्याइने क्षेत्रको ‘राफ्ट फाउन्डेसन’ को काम भइरहेको छ । यही फाउन्डेसनमा नै धरहराको टावर निर्माण हुने भएकाले ‘राफ्ट फाउन्डेसन’ निर्माण कार्य महत्वपूर्ण मानिने गरिन्छ । त्यसैगरी, ‘अन्डरग्राउन्ड’ निर्माण गरिने दुई तल्ला भवनको समेत फाउन्डेसन निर्माणको कार्य भइरहेको छ ।

स्थानीयद्वारा वैकल्पिक मार्गको माग

स्थानीयद्वारा गरिएको वैकल्पिक मार्गको माग तथा धरहरा क्षेत्रमा परेका गोश्वरा हुलाक कार्यालय भवन स्थान्तरण हुन नसक्दा अहिले ‘फुल फेज’ मा काम गर्न केही कठिनाइ भइरहेको प्राधिकरणका निर्माणविज्ञ राजुमान मानन्धरले जानकारी दिए । धरहराको निर्माण कार्य सुरु भएसँगै धरहरा क्षेत्रको बीच भागमा रहेको बाटो बन्द भएपछि स्थानीयले वैकल्पिक मार्गको माग गरेका हुन् । उनले भने, “धरहराको निर्माण कार्य रोकिएको छैन तर अहिले ‘फुल फेज’ मा काम हुन सकेको छैन ।”

हुलाक कार्यालय बबरमहलमा स्थान्तरण गरिने

पुनःनिर्माण भइरहेको धरहरा क्षेत्रमा परेका गोश्वरा हुलाक कार्यालय र टक्सार कार्यालय स्थान्तरणको अन्तिम तयारी भइरहेको छ । निर्माणविज्ञ राजुमान मानन्धरका अनुसार गोश्वरा हुलाक कार्यालय बबरमहलस्थित वाणिज्य विभाग परिसरमा र टक्सार कार्यालय बबरमहलमा नै रहेको नेपाल औषधि लिमिटेड परिसरमा स्थान्तरण गरिनेछ । अबको तीन महिनाभित्र गोश्वरा हुलाक कार्यालय स्थान्तरण गर्नका लागि भवनको निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी समेत उनले दिए ।
गोरखापत्रबाट

Logo