कहाँ छन् राजा वीरेन्द्रका यी ३ चित्र ? (भिडियो रिपोर्ट)

कहाँ छन् राजा वीरेन्द्रका यी ३ चित्र ? (भिडियो रिपोर्ट)


तत्कालीन युवराज वीरेन्द्र शाहले सिर्जना गरेका चर्चित तीन चित्रको खोजी सुरु हुँदै–रोकिँदै गरेको छ । कला–पारखीहरूका अनुसार ‘दरबार हत्याकाण्डअघि उनका सबै चित्र नारायणहिटी दरबारमा रहे पनि गणतन्त्र घोषणापछि एकाएक हराएका थिए ।’ वीरेन्द्रका कलागुरु विजय थापाका अनुसार, यी चित्र वीरेन्द्रले २०२० सालमा तयार गरेका हुन् । अर्थात्, वीरेन्द्र युवराज हुँदै यी चित्र कोरेका थिए ।

वीरेन्द्रले बनाएका चर्चित चार चित्रहरूको नाम थियो– मोती, झरना, रमझम र यदुनाथ खनालको मुहार चित्र । आम नेपाली कलाकारका चित्र नामले चिनिएका छैनन् । स्थापित र वरिष्ठ भइसकेकाहरूका चित्र पनि खासै चर्चित भएका छैनन् । तर उल्लेख्य कुरा के छ भने सिकारु अवस्थामा बनाए पनि वीरेन्द्रका चारै चित्र (सार्वजनिक भएकामध्ये) नामैले चिनिन्छन् ।

पूर्वराजा वीरेन्द्रले बनाएका मध्ये यदुनाथ खनालको मुहार चित्र पनि चर्चितमध्येमा गनिन्छ, जो खनाल निवासमा सुरक्षित छ । अन्य तीन चित्रमध्येको मोती नामको चित्र गोकर्ण दरबारमा रहेको पत्ता लगायो, तत्कालीन ललितकला प्रज्ञा प्रतिष्ठान नेतृत्वले । तर प्रतिष्ठानले त्यो चित्र फर्काउन भने सकेन ।

राष्ट्रिय कला संग्रहालय (पुरानो नाम वीरेन्द्र कला संगह्रालय) मा राख्नका लागि वीरेन्द्रका ती चित्रको खोजी हुनु स्वभाविक छ किनभने उक्त संगहालय नै तत्कालीन युवराज वीरेन्द्रको देन थियो । यिनै कारणले हुनुपर्छ, ललितकला प्रज्ञा प्रतिष्ठानका तत्कालीन चित्रकला विभाग प्रमुख प्राज्ञ स्व.शान्तकुमार राईले चित्र फर्काउने घोषणा नै गरेका थिए । तर, अन्य सरकारी निकायवाट सहयोग नभएपछि उनको प्रयास सार्थक हुन सकेन । ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरका अनुसार, चित्र कहाँ छन् भनेर हामीले पत्तो लगाउनै सकेनौं । भन्छन्, ‘हचुवाको भरमा कहाँ छन् भनेर कसरी भन्ने ?’

के गोकर्ण दरबारमा रहेको वीरेन्द्रको ‘मोती’ नामको चित्र फर्काउन सकिएला ? हराइरहेका अन्य दुई चित्र ‘झरना’ र ‘रमझम’ को खोजी कसले गर्ला ? सरकारी निकायहरू वीरेन्द्रका यी चित्रका बारेमा आफैं र अझै बेखबर छन् ।

तत्कालीन राजा वीरेन्द्रको सम्पत्ति खोजेर राष्ट्र–हितमा लगाउन बनेको नेपाल ट्रष्टले पनि हराइरहेका चित्रलाई वास्ता गरेन । तत्कालीन नेपाल ट्रष्टका सचिव शंकर कोइरालाका अनुसार, राजा वीरेन्द्र–सिर्जित चित्रलाई सम्पत्ति हो भनेर बुझिएकै छैन । स्मरणिय कुरा के छ भने वीरेन्द्र शाह चित्रकार मात्र थिएनन् । उनी ‘पेण्टिङ कलेक्टर’ पनि थिए । नजिकवाट उनलाई जान्नेहरु भन्छन् –‘वीरेन्द्रसँग विश्वप्रसिद्ध धेरै चित्रकारका कृतिहरु थिए ।’ जसको मूल्य करोडौं पर्दछ । जस्तो– भारतका प्रसिद्ध चित्रकार एमएफ हुसेनले समेत नेपाल भ्रमणमा आएकावेला वीरेन्द्रलाई चित्र उपहार दिएका थिए ।

हेर्नुहोस् भिडियो रिपोर्ट

Logo