आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस : सौन्दर्य जोगाउने चुनौती

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस : सौन्दर्य जोगाउने चुनौती

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । सगरमाथा शिखरमा पहिलो पटक दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन ८८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए । सोही समयदेखि संसारभरि सगरमाथाको आकर्षण बढ्दो छ ।

यसपटक १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको हो । दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको ३७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमअनुसार बुधबार बिहान ठमेलबाट प्रभातफेरीपछि राष्ट्रिय सभागृहमा औपचारिक समारोह आयोजना गरिनेछ ।

समारोहमा हिलारीकी छोरी सारा हिलारीलगायत विदेशी पाहुनाको सहभागिता रहनेछ । सो अवसरमा ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’ र ‘तेञ्जिङ हिलारी पुरस्कार’ प्रदान गरिनेछ । यस पटक सगरमाथा हिमाल सफाइ अभियानमा खटिएका शेर्पा टोलीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सगरमाथा राष्ट्रको गौरव भएकाले यसको प्रवद्र्धनका लागि सरकारले विशेष प्रथामिकता दिएको बताउनुभयो ।

सगरमाथा आरोहण इतिहासको यो अवधिमा आठ हजार भन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहणका क्रममा हालसम्म २९० बढीको निधन भइसकेको बताइन्छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । सोलुखुम्बुकी स्व पासाङ ल्हामु शेर्पाले वि.सं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम नेपाली महिला आरोहीको कीर्तिमान कायम गरेकी थिइन् । जापानी नागरिक स्व जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही हुन् ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४ औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको यस याममा गत जेठ ७ गते आफ्नै २३ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ रेकर्ड बनाएका हुन् । उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए , कामिरितापछि हालसम्म आप्पा शेपा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाको १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

पर्यटन विभागका अनुसार सन् २०१९ को वसन्तकालीन मौसममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका थिए । यस मौसममा सगरमाथासहितका ३२ हिमाल आरोहणका लागि ११६ आरोही समूहका ८९५ आरोहीले आरोहण अनुमति लिएका थिए । यस यामको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो । यस पटकको सगरमाथा आरोहण मंगलबारबाट सकिएको विभागले जनाएको छ । यस याममा ६०० भन्दा बढीले सगरमाथा आरोहण गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo