काभ्रे । काभ्रेको मण्डन देउपुर-६, की सरिता दुलालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका श्रीमानसहित ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । श्रीमान सुदिप, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीतालाई जिल्ला अदालत काभ्रेले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
न्यायधीश दुर्गा खड्काको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशसँगै उनीहरु जेल चलान भएका हुन् । १३ वैशाखमा दुलालको घाँटीमा थिचेर हत्या गरिएको थियो ।
पक्राउ परेका ४ जना प्रतिवादीले अदालतमा इन्कारी बयान दिए पनि सरिताका श्रीमान सुदिपले सामुहिक रुपमा हत्या गरेको बयान दिएका थिए । पोष्टमार्टम रिर्पोटले पनि एक भन्दा बढीले हत्या गरेको देखिएको छ । सोही आधारमा घटनामा परिवारका अन्य व्यक्ति कसुरदार होइनन् भन्ने आधार नदेखिएको फैसलामा उल्लेख गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टम रिपोर्टले पनि सरिताको हत्या एक जना व्यक्तिबाट मात्रै नभएको देखाएको थियो । दुलाल परिवारमा सम्पत्ति र सरिताको नागरिकता तथा सरिता दम्पतीबाट बच्चा नभएको विषयमा विवाद रहेको थियो । पक्राउ परेका ५ जनाविरुद्द प्रहरीले ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।
दुलालका दाजु चैनपुरका कृष्णप्रसाद दाहालले दिएको जाहेरीमा सरिताको हत्यापछि श्रीमान सुदीप फरार हुनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृत अवस्थामा भेटिएको भनेर प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको सम्भावनालाई बलियो बनाएको उल्लेख गरिएको थियो ।































प्रतिक्रिया